काठमाडाैँ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभा तान्जानियाको अरुसास्थित अरुसा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा औपचारिक रूपमा उद्घाटन भएको छ।
स्थानीय समयअनुसार साँझ ७ः१५ बजे आयोजित उद्घाटन समारोहमा विश्वका विभिन्न मुलुकका संसदीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो।
महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् तथा त्यसबाट उत्पन्न चुनौतीका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।
नेपाली प्रतिनिधिमण्डलले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका विपद्का घटना, त्यसबाट प्रभावित नागरिक तथा पूर्वाधार र विपद् व्यवस्थापनमा देखिएका चुनौतीलाई अन्तर्राष्ट्रिय संसदीय मञ्चमा प्राथमिकताका साथ उठाउँदै आएको छ।
जलवायुजन्य विपद् न्यूनीकरण, जोखिम व्यवस्थापन तथा उत्थानशीलता अभिवृद्धिका लागि संसदीय सहकार्यलाई प्राथमिकतामा राख्दै नेपाली प्रतिनिधिमण्डलले विभिन्न मुलुकका संसदीय प्रतिनिधिमण्डलसँग छलफल तथा सहकार्यका लागि पहल गरिरहेको छ।
महासभाका क्रममा जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा परेको असरबारे अन्तर्राष्ट्रिय तहमा साझा धारणा निर्माण गर्न तथा विपद् न्यूनीकरण र जलवायु न्यायका विषयमा संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भइरहेको छ।