काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । महाधिवेशनमा सहभागी ७ हजार ११४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन फारम वितरण सुरु गरेको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार उम्मेदवारहरूले सभागृहबाटै मनोनयन फारम लिएर उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दर्ताका लागि तोकिएको शुल्क प्रभु बैंकका कर्मचारीलाई बुझाई रसिद लिएपछि मनोनयन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिका अनुसार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।
कांग्रेसले यसपटक केन्द्रीय कार्यसमितिको आकार १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएका छन् । उपसभापतिको संख्या चार पुगेको छ भने महामन्त्रीको संख्या तीन पुर्याइएको छ । तीन महामन्त्रीमध्ये एक जना महिला अनिवार्य गरिएको छ ।
त्यस्तै दुई खुला सहमहामन्त्रीको व्यवस्था थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । कांग्रेसले प्रवक्ता पदसमेत थप गरेको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने जनाएको छ ।
यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय र पदाधिकारीको संख्या १४ थियो । प्रतिनिधिको संख्या तथा समावेशी सहभागिता बढेसँगै यसपटक केन्द्रीय कार्यसमिति र पदाधिकारीको संख्या विस्तार गरिएको कांग्रेसले जनाएको छ








