काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकालले वर्तमान सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी रहेको टिप्पणी गर्नुभएको छ ।
ललितपुरको पुल्चोकमा सोमबार आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै ढकालले जेन–जी आन्दोलनबाट स्थापित शक्ति नभई अर्कै शक्तिले अहिले सरकार सञ्चालन गरिरहेको दाबी गर्नुभयो ।

उहाँले जेन–जी आन्दोलनको उद्देश्य स्थापित राजनीतिक शक्तिलाई झकझकाउने र सुधार गर्ने भए पनि आन्दोलनलाई नियन्त्रणमा लिएर अर्कै शक्तिले पुराना राजनीतिक दल र नेताहरूलाई पूर्णरूपमा विस्थापित गरेको बताउनुभयो ।
रास्वपामा आबद्ध व्यक्तिहरूमा समेत राजनीतिक अनुभवको कमी आफूले देखेको उल्लेख गर्दै उहाँले अचानक आएको जिम्मेवारीका कारण वर्तमान सरकारमा अनुभवको अभाव देखिएको बताउनुभयो ।
तर, फागुन २१ गतेको निर्वाचनपछि ठूलो जनमतबाट सरकार अनुमोदित भइसकेकाले त्यस जनमतको अवमूल्यन गर्न नहुने उहाँको भनाइ थियो ।
‘जेन–जी आन्दोलन जुन भदौ २३ मा भयो, त्यसमा जसले आन्दोलन गर्यो, त्यो आन्दोलन गरेको शक्ति आज सत्तामा छैन । यो छुट्टै शक्ति आएर स्थापित भएको हो । फागुन २१ को चुनावमा जनताले अब देश बन्छ, अब देश बनाउनुपर्छ भन्ने आधारमा भोट दिएका हुन्,’ उहाँले भन्नुभयो ।
ढकालले निर्वाचनमा जनताले देश निर्माणको अपेक्षासहित मतदान गरेको भन्दै सरकारको नेतृत्व गरिरहेको समूहमा रहेको अनुभवको कमीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सरकार मुलुक र नागरिकको पक्षमा काम गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।







