२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी

विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो
अ अ+ अ-

काठमाडौँ। ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार(असोज २२ गते) विविध कार्यक्रम आयोजना गरेर विश्व दृष्टि दिवस मनाइँदैछ ।

विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ ।

बालबालिका,छात्र/छात्रा,कर्मचारी,मजदूर,किसान,सवारी साधनका चालक आदि सबैको दैनिक जीवनका अधिकांश गतिविधि स्पष्ट दृष्टिमा निर्भर छन् । आँखाका स्वास्थ्यमा देखिने समस्या सधैँ पीडा वा असहजताबाट सुरु हुँदैन । धेरै अवस्थामा दृष्टि कमजोर हुँदै जाँदा पनि यसलाई सामान्य ठानेर बेवास्ता गर्ने प्रवृत्तिले समस्या जटिल बन्ने नेत्र विशेषज्ञको भनाइ छ ।

यही वास्तविकतालाई केन्द्रमा राखेर असोज २२ मा नेपालमा ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ नेपाल नेत्रज्योति सङ्घसहित विभिन्न सङ्घ संस्थाहरुले विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाउँदैछन् । विश्वभर अन्तरराष्ट्रिय संस्था ‘आइएपिबी’ले अक्टोबर ८ मा ‘आँखालाई माया गरौँ’ अभियान सञ्चालन गर्दैछ । ‘आइएपिबी’का अनुसार विश्वका एक अर्बभन्दा बढी मानिस अझै आफूलाई आवश्यक पर्ने आँखा स्वास्थ्य सेवा र उपचारको पहुँचबाट बाहिर छन् ।

नेपालमा उपचारको पहुँच बढ्यो

नेत्रज्योति सङ्घका अनुसार नेपालमा पछिल्लो दशकमा आँखा स्वास्थ्य सेवा पहुँच उल्लेखनीय रूपमा वृद्धि भएको छ । सन् १९७८ मा सङ्घ स्थापना हुँदा देशमा आँखा उपचारको अवस्था प्रारम्भिक चरणमा थियो । सीमित पूर्वाधार र न्यून विशेषज्ञ जनशक्तिबाट सुरु भएको सेवा अहिले देशका विभिन्न भूगोलसम्म विस्तार भएको छ । आँखा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ सेवा तथा समुदायमा आधारित कार्यक्रमको विस्तारले उपचारको पहुँच बढाएको छ ।

यसको सकारात्मक प्रभाव अन्धोपनका अवस्थामा देखिएको छ । सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी सर्वेक्षणमा यो शून्य दशमलव २८ प्रतिशतमा झरेको देखाएको छ । तर अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान भएका छैनन् । चुनौतीको स्वरूप परिवर्तन हुँदै गएको छ ।
यससँगै ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टिदोषजस्ता समस्या पनि बढ्दो चुनौती बनेका छन् । बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेका छन् ।

नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रका अनुसार नेपालले उपचारमा उल्लेखनीय प्रगति गरे पनि अबको प्राथमिकता रोकथाम, प्रारम्भिक पहिचान र सेवाबाट बाहिर रहेका जनसङ्ख्यासम्म पहुँच विस्तारमा हुनुपर्छ । उहाँका अनुसार आँखाको समस्या गम्भीर भएपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिलाई परिवर्तन गर्दै नियमित आँखा परीक्षणलाई स्वास्थ्य संस्कारका रूपमा विकास गर्न आवश्यक छ ।

नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार अस्पताल र उपचार केन्द्र विस्तारसँगै सेवा नपुगेका समुदाय पहिचान गरी उनीहरूको आवश्यकताअनुसार सेवा पु¥याउनुपर्ने अवस्था छ । उहाँले भन्नुभयो“आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोड्दै समुदायमै प्रारम्भिक परीक्षण, प्रभावकारी रिफरल प्रणाली र दुर्गम क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता छ ।”

नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले आँखा स्वास्थ्यलाई अस्पताल र उपचारको विषयमा मात्र सीमित गर्ननहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “राम्रो दृष्टि शिक्षा, रोजगारी, उत्पादकत्व र आत्मनिर्भरतासँग जोडिएकाले आँखाको स्वास्थ्यमा गरिएको लगानीलाई मानव विकासमा गरिएको लगानीका रूपमा बुझ्नुपर्छ ।”

सङ्घका अनुसार सङ्घले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । सङ्घको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ उपचार केन्द्र मार्फत् नेपालीसहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिसकेको छ ।

उपलब्ध तथ्याङ्कहरुले पनि दृष्टि सुधारले विद्यालयको सिकाइ तथा कार्यस्थलको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने देखाएका छन् । नेपालका लागि विश्व दृष्टि दिवस उपलब्धि स्मरण गर्ने अवसर मात्र होइन, आगामी प्राथमिकता निर्धारण गर्ने समय पनि हो । अन्धोपन न्यूनीकरणमा प्राप्त उपलब्धिलाई जोगाउँदै अब कसैले गरिबी, भौगोलिक विकटता, जनचेतनाको कमी वा सेवाको अभावका कारण उपचार गर्न सकिने दृष्टि गुमाउन नपरोस् भन्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता छ ।

आँखाको हेरचाह समस्या आएपछि मात्र सुरु हुने अभ्यासबाट नियमित परीक्षण र रोकथामतर्फ जानुपर्छ । बालबालिकाको दृष्टिमा अभिभावक र विद्यालय सचेत हुनुपर्छ । ज्येष्ठ नागरिक तथा मधुमेहजस्ता जोखिम भएका व्यक्तिले नियमित परीक्षणलाई प्राथमिकता दिनुपर्छ । दृष्टिमा सामान्य परिवर्तन देखिए पनि त्यसलाई बेवास्ता नगरी समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्छ ।

दृष्टि जोगाउनु स्वास्थ्यको विषय मात्र होइन, जीवनका अवसर जोगाउनु पनि हो । एउटा बालबालिकाको दृष्टि जोगिँदा उसको सिकाइ र भविष्य जोगिन्छ । एउटा श्रमिकको दृष्टि जोगिँदा उसको रोजगारी र परिवारको आय जोगिन्छ । एउटा ज्येष्ठ नागरिकको दृष्टि जोगिँदा उसको आत्मनिर्भरता र सम्मान जोगिन्छ । यसैले यस वर्षको विश्व दृष्टि दिवसले दिने सन्देश एउटा दिनको अभियानमा सीमित नभई आँखालाई माया गरौँ, नियमित जाँच गरौँ, समयमै उपचार गरौँ र सबैका लागि दृष्टिको रक्षा गरौँ । रासस