चितवन। चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो ।
वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटो मर्मत गर्ने, ढलेका रुख पन्छाउने, झाडी फाँड्नेलगायत काम सकिएसँगै जिप सफारी सुरु गर्न लागिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । हरेक वर्ष वर्षाको समयमा निकुञ्जभित्रको जिप सफारी बन्द गरिन्छ ।
सूचना अधिकारी थापामगरले असोजको दोस्रो साता आएको बाढीले जङ्गलभित्रका मार्ग भत्किएकाले सफारी खुला गर्न समय लागेको बताउनुभयो ।
बाढीका कारण रिउखोला गहिरो भएकाले ग्राभेलिङ गर्ने काम भइरहेको छ । रिउखोलामा आएको बाढीले निकुञ्जको टाइगरटप्स क्षेत्रमा जाने मार्गमा समस्या भएकाले स्तरोन्नति गर्न समय लागेको उहाँले जनाउँदै सो ठाँउमा ग्राभेल हालेर मार्ग तयार गर्ने काम भइरहेको बताउनुभयो ।
निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत अवस्थामा हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र सञ्चालन हुन्छन् । रासस








