काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकहरूसँग भेट तथा छलफल गर्नुभएको छ ।
युवाहरूलाई आन्तरिक रोजगारीप्रति आकर्षित गर्न, श्रमिकहरूको मनोबल उच्च बनाउन र स्थानीय स्तरमा रोजगारीका अवसरहरू प्रवर्धन गर्ने उद्देश्यले उक्त भेट गरिएको हो।
युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशको इटहरीमा असोज १४ गतेदेखि २० गते सम्म आयोजना गरेको सीप तथा रोजगार मेला सकिए पनि स्थानीय स्तरमा सीप र रोजगारीका कार्यक्रम भने निरन्तर चलिरहने छन् ।
नेपाल सरकारको २०८३/८४ देखि २०९२/९३ लाई रोजगार दशकको रूपमा अघि सारेको योजना अनुरूप नै सीप तथा रोजगार मेला आयोजना गरिएको हो।
यसै अन्तर्गत रहेर मन्त्री यादवले कोशी गाउँपालिकाको वडा नम्बर ७ स्थित हरिपुर तथा लौकही बजार क्षेत्र, वराहक्षेत्र नगरपालिकाको शिवगन्ज र मधुवन क्षेत्र, इनरुवा नगरपालिकाका विभिन्न क्षेत्रहरू र रामधुनी नगरपालिकाको वडा नम्बर १ स्थित मोहनपुर गाउँका युवाहरूलाई भेट गर्नु भएको थियो।








