काठमाडाैँ । मधेश प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि आधारभूत शिक्षाको जग बलियो बनाउँदै नीतिगत तथा संरचनागत सुधार गर्नुपर्नेमा शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।
युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले सिमरामा आयोजना गरेको दुईदिने उच्चस्तरीय संवादमा सहभागी वक्ताहरूले शिक्षालाई समयसापेक्ष, व्यवहारिक, सीपमूलक र जीवनोपयोगी बनाउनुपर्ने बताएका हुन् ।
संवादमा मधेशको आधारभूत शिक्षा सुधार नगरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न नसकिने भन्दै विद्यालय तहदेखि विश्वविद्यालयसम्मै सुधार आवश्यक रहेको औँल्याइएको थियो । सहभागीहरूले सीप, ज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले मुलुकको समग्र शिक्षा सुधारका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । मधेश प्रदेशको शिक्षामा देखिएका कमजोरी हटाएर गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न शिक्षा ऐनमा व्यापक संशोधनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
“म पनि मधेशकै शिक्षकबाट पढेको हुँ, तर अहिलेको मधेशको शिक्षा हेर्दा अचम्म लाग्छ,” सचिव पौडेलले भन्नुभयो, “मधेशको शिक्षा पहिला राम्रो थियो । अहिले किन खस्केको हो ? कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन । यस्ता शैक्षिक बहस आवश्यक छन् ।”
उहाँले शिक्षा सुधारका लागि नीतिगत परिवर्तनसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो ।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले मधेश प्रदेशमा साक्षरता अभिवृद्धि तथा शिक्षा सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले उच्च शिक्षालाई विशिष्टिकृत बनाउन प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा सुधारलाई कुनै एउटा तहको सरकारको मात्र जिम्मेवारीका रूपमा लिन नहुने उल्लेख गर्दै झाले तीनै तहका सरकार तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
संवादमा सहभागी वक्ताहरूले बदलिँदो समयअनुसार शिक्षण प्रणालीमा समेत परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए । डिजिटल साक्षरतालाई प्राथमिकता दिँदै कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नयाँ प्रविधिको शिक्षामा उपयोग गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
शिक्षा र रोजगारीबीचको सम्बन्ध बलियो बनाउन सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने तथा उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र श्रम बजारको आवश्यकतासँग जोड्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा राष्ट्रिय योग्यता प्रारुपका विषयमा पनि छलफल गरिएको थियो । औपचारिक, अनौपचारिक तथा सीप शिक्षाबाट प्राप्त ज्ञान र सीपलाई मान्यता दिने, एक प्रकारको शिक्षाबाट अर्को प्रकारको शिक्षामा रूपान्तरण तथा गतिशीलताको अवसर प्रदान गर्ने र क्रेडिट सञ्चय तथा स्थानान्तरणको व्यवस्था गर्ने विषयमा छलफल भएको थियो ।
वैकल्पिक माध्यमबाट शिक्षा हासिल गरेका तथा परम्परागत माध्यमबाट सीप प्राप्त गरेका व्यक्तिको ज्ञान र सीपलाई समेत मान्यता दिने प्रणाली विकास गर्नुपर्ने सहभागीहरूको धारणा थियो ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसीले मधेश प्रदेशको उच्च शिक्षाको अवस्थाबारे प्रस्तुतीकरण गर्दै उच्च शिक्षामा नीतिगत सुधारसँगै डिजिटल साक्षरतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयले नीतिगत तथा संरचनागत सुधारका काम अघि बढाएको जानकारी दिनुभयो ।
राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राडा श्यामनारायण लाभले मधेश प्रदेशको शिक्षा सुधारका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा विवेक बरालले उच्च शिक्षाको विशिष्टीकृत सुधार आवश्यक रहेको बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री तथा आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद अरविन्द शाहले मधेशको आधारभूत शिक्षा सुधार गरेर मात्रै उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सकिने बताउनुभयो । उहाँले डिजिटल साक्षरताका लागि एआईलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
सांसद राजकिशोर महतोले मधेश विकासको आधार मानिने शिक्षाको समग्र सुधारका लागि नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद रहबर अन्सारीले प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
मधेश प्रदेशको शिक्षा सुधारका लागि विद्यालय तहको गुणस्तर अभिवृद्धि, शिक्षकको क्षमता विकास, प्रविधिमैत्री शिक्षा, सीप विकास तथा उच्च शिक्षामा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने निष्कर्षसहित संवाद अघि बढाइएको छ ।








