१४ असार २०८३, आईतवार
,
Latest
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष सम्पादकीय : आज नेपालको ऐतिहासिक दिन !



अ+ अ-

आज नेपालका लागि ऐतिहासिक दिन । दशकौँदेखि गुमेको र एक किसीमले भन्दा खोसिएको आफ्नो भूमि सकुशल फिर्ताका लागि आज वैधानिक रुपमा प्रक्रिया थाल्ने अथवा दाबी गर्ने दिन । पश्चिम नेपालका भारतले अतिक्रमण गरेर कब्जा गरेका लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रका भूभागहरु समेटेर जारी गरिएको नेपालको वास्तविक नक्सा नेपालको संसदमा मतदान गरेर वैधानिक गराउने दिन । नेपालका गुमेका भूभागहरु समेटेर तयार पारिएको नक्सा बमोजिम नेपालको निशाना छापमा पनि संशोधन गरी नयाँ बनाउनका लागि आवश्यक संविधान संशोधन गर्न नेपालको संसदले आज व्यापक तयारी गरिरहेको छ । देशमा त्यस्तो कुनै भवितव्य परेन भने अबका केही घन्टामा नेपालको संसदले आफ्नो गुमेको जमिन प्राप्त गर्ने सबैभन्दा ठूलो वैधानिकता प्राप्त गर्नेछ । यस प्रयोजनका लागि देशका सबै राजनीतिक दलहरुमा अभूतपूर्व एकता देखिएको छ । संविधान संशोधनको पक्षमा मतदान नगर्ने त होइनन् भनी आशंका गरिएका राजनीतिक शक्तिहरुले पनि संगठित रुपमा निर्णय गरेर एकता प्रदर्शन गरिसकेका छन् । 

भारत दक्षिण एसियाको जनसंख्या, भूगोल, अर्थतन्त्र आदिका हिसाबले ठूलो देश हो । ठूलो हुनु या बन्नु भनेको सानोलाई माया गर्नु या भरथेग गर्नु प्रकृतिको नियम नै हो । तर प्रकृतिको यो नियमको पालना गर्ने ठूलो मन भारतले दक्षिण एसियाली छिमेकी मुलुकहरुमा कहिल्यै देखाएन । यो अहिले हामी हेपाईमा परेर उसलाई लगाएको दोषारोपण होइन कि नेपालबाहेकका अरु देशसँगको उसको व्यवहार पनि त्यस्तै छ । कुनै छिमेकीसँग उसको राम्रो सम्बन्ध छैन । पाकिस्तानको त कुरै भएन उनीहरुका शब्दमा फुटेर गएको पर्यो । बंगलादेशसँग पनि भारतको सीमाकै सम्बन्धमा गडबडी छ । गंगाको पानी बाँडफँडको विषयमा उनीहरुका बीच विवाद छ । श्रीलंकासँगको नराम्रो सम्बन्धले नै महामत्मा गान्धीदेखि राजीव गान्धीसम्मका हत्याका नराम्रा घट्ना भएको इतिहास भारतीय इतिहासकारहरुले नै जोड्ने गरेका छन् । सानो देश मालदिभ्समा ठूलो राजनीतिक उथलपुथलका पछाडिको कारक खोज्दा पनि नयाँ दिल्ली नै पुग्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । भूटानको राजनीतिक, आर्थिक र सामाजिक नियन्त्रणको चाबी केही अघिसम्म भारतले नै बोकेर बसेको थियो । पछिल्ला एकाध वर्षमा उसले भनेको नेतृत्व त्यहाँको राजनीतिमा नउदाएपछि चीनसँग जोडिएको आरोप पनि उनीहरु नै लगाउँछन् । बाँकी रह्यो नेपाल । नेपाल भारत सम्बन्धका आयामहरुका केश्रा केलाउने जो कोहीले पनि नेपाल भारतबाट नहेपिएको, नपेलिएको इतिहास र वर्तमान कुनै पनि भेटाउँदैन । पहिलेका यी दुई देशका अनेकन सन्धीदेखि अहिलेका सम्झौताहरुसम्म पनि भारतले नेपालको हात तल पार्ने मात्र ध्याउन्न राखेको देखिन्छ । सुगौली सन्धी हुन् या अहिलेका विविध सम्झौता नै किन नहुन् । छिमेकमा भएपछि आँठो जोडिन्छ, कुम ठोक्किन्छ । यी यस्ता विविध विषयको व्यवस्थापन गर्नैपर्ने बाध्यता हुन्छ । तर जब जब सन्धी या सम्झौता या समझ्दारीका लागि दुई पक्ष बस्नुपर्छ तब भारतले बडे भाइको व्यवहार देखाइहाल्छ । आँठो मिच्ने उसको सबैभन्दा ठूलो कमजोरी हो । त्यति ठूलो जमिनयुक्त देशलाई नेपालजस्तो उसको भन्दा थोरै क्षेत्रफल भएको देशको आँठो मिचेर किन दुःख दिन खोजेको हो भन्ने कुरा सुन्नेलाई पनि अचम्म लाग्छ । अहिलेको समस्या पनि यही हो । उसले वर्षौँदेखि हाम्रा यी भूभागहरु हडपेरै राख्यो । ती जमिन फिर्ता गर, त्यहाँबाट आफ्ना सेना फिर्ता लैजाउ भन्ने हाम्रो लाख विन्ती र लाख प्रयत्नहरु भए । तर सम्भव भएन । हुँदा हुँदा अहिले त उनीहरुले हाम्रै भूमिमा आएर बाटो नै बनाए । सहनुको यो भन्दा अर्काे हद थिएन । त्यसैले हामीले हाम्रो जमिन फिर्ताको कागजीबाटो समात्यौँ । बाँकी भौतिक उपस्थितिका कामहरु हुदै जानेछन् र यसका प्रयत्नहरु नेपाल सरकारले अघि बढाउँदै लैजाने नै छ । अहिलेको लागि वर्तमान सरकार र विशेषतः प्रधानमन्त्री केपी ओलीको यो प्रयत्न प्रशंसनीय छ । 

नेपाल यसै एकतर्फी नक्सा जारी गर्ने बाटोमा पुगेको होइन । पहिलेका र यही सरकारले पनि वार्ताका लागि निकै समयदेखि समय मागेकै हो । द्धिपक्षीय वार्ताको टेबलमा बसौँ र यी विषयहरुलाई टुंग्याऔँ भन्ने चाहना नै हो नेपालको । तर भारतले धेरै नै उपेक्षा गर्यो । वार्तामा बस्ने समय पनि दिएन । यता हामीले आफ्ना प्रमाणहरु पुर्याइ नै सकेका छौँ । हामीसँग भौतिक रुपमा कागजातदेखि देख्ने मानिसहरु नै छन् । हाम्रो हडपिएको त्यही ठाउँमा पुगेर जनगणना गरेर आएका भैरव रिसालजस्ता व्यक्तिहरुले आफ्ना प्रमाणहरु पेश गरिसकेका छन् । तर पनि भारत बोल्दैन । हुनत वार्तामा बसेपछि कागज बोल्यो भने आफूले लिँडेढिपी गर्न नपाइने भएर पनि वार्तादेखि भागेको होला । त्यो मनोविज्ञान हामीले नबुझेको पनि होइन । तर जे सुकै हास् यी दुई देशबीच रोटीबेटीको सम्बन्ध रहेका सदियौँदेखिका छिमेकी हुन् । त्यसैले पनि आगामी दिनमा वार्ता नै उत्तम उपाय हुनसक्छ । तर एउटा कुरा भारतले के बुझ्नसक्नुपर्छ भने भूगोल र जनसंख्याले कुनै पनि देश सानो हुने होइन । त्यसो हुने भए आज विश्वका नागरिकको मुखमा सिंगापुरको नाम यसरी झुण्डिने नै थिएन । सिंगापुरको जनसंख्या र भूगोल सबैलाई थाहै छ । अर्काे कुरा त्यस देशले कत्तिको वीरताको इतिहास बोकेको छ भन्ने पनि हेक्का राख्नुपर्दछ । हामी भारतीयजस्तो कुनै विदेशी साम्राज्यको छायाँमा कहिल्यै परेनौँ । हाम्रा वीर र वीरताले जोगाएको देश हो यो । बरु हाम्रै वीर गोरखालीले भारतीयहरुको सीमा जोगाइदिएका छन् । अनि विगतका हिसाब खोज्ने हो भने त बेला बेलामा भारतमा हुने सिपाही विद्रोहहरुमा हाम्रै वीर गोरखाली गएर जोगाइदिएका छन् । त्यसैले यहाँसम्मका यति महत्वपूर्ण हाम्रा सम्बन्धहरुलाई कायम राख्न पनि आज नेपालको संसदले पास गर्ने नयाँ नक्साबमोजिमको जमिनमा भारतीय उपस्थिति हटोस् र यसका लागि टेबुल वार्ताको प्रक्रियाको थालनी छिट्टै होस् ।