२१ मंसिर २०८२, आईतवार
,
Latest
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्डो प्यासिफिकमा महत्वपूर्ण साझेदारका रुपमा छ : विदेशमन्त्री ब्लिङ्केन



अ+ अ-

वाशिङ्गटन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गर्नुभएको छ ।

सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै विदेशमन्त्री ब्लिङ्केनले सो इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो भन्दै सो घटनाको निन्दा गर्नुभएको थियो ।

उहाँले अमेरिकाको विदेश मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको थियो । यसअघि उहाँले मन्त्री साउदलाई अमेरिकी विदेश मन्त्रालयमा स्वागत गर्नुभएको थियो ।

अमेरिकाको औपचारिक भ्रमणका क्रममा सोमबार वाशिङ्गटन डिसी आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटपछि यहाँ आयोजित संयुक्त प्रेस ब्रिफिङमा विदेशमन्त्री ब्लिङ्केनले भन्नुभयो, “नेपाल र अमेरिकाबीच विगत लामो समयदेखिको  कूटनीतिक सम्बन्धको रहेको छ । अहिले नेपाल इन्डो प्यासिफिकमा महत्वपूर्ण साझेदारका रुपमा रहेको छ । हामीहरु उक्त क्षेत्रको निर्बाध, खुला, सुरक्षित र समृद्ध क्षेत्रका लागि सँगसँगै काम गर्दै पनि आएका छौँ ।”

विदेशमन्त्री ब्लिङ्केनले दुई देशबीचको पारस्परिक सम्बन्धलाई स्वतन्त्र, सुरक्षित तथा समृद्ध बनाउनका लागि दुई देशले अर्थपूर्ण रुपमा सहकार्य गर्दै आएको पनि उल्लेख गर्नुभयो ।

नेपालले क्षेत्रीयस्तरमा मात्र नभई विश्वव्यापी रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै विदेशमन्त्री ब्लिङ्केनले राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा खटिएका शान्ति व्यवस्थापकहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “विश्वभर द्वन्द्वग्रस्त स्थानमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घमार्फत नेपालको भूमिका महत्वपूर्ण रहेको छ ।”

यसैगरी, अमेरिका र नेपालबीच नागरिकस्तरको सम्बन्ध समेतको सहकार्यमा आर्थिक लगानीलगायतका क्षेत्रमा अमेरिका र नेपालले महत्वपूर्ण सहकार्य गर्दै आएको पनि उहाँले सो प्रेस ब्रिफिङमा उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री एन पी साउदले प्रत्युत्तर मन्तव्य दिनुहुँदै अमेरिकी विदेशमन्त्रीले नेपाली नागरिकले हालै इजरायलमा ज्यान गुमाउनु परेको घटनामा व्यक्त गर्नुभएको सहानुभूतिका लागि कृतज्ञता ज्ञापन गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “हामीहरुले आतङ्कवादी समूहको आक्रमणबाट दश विद्यार्थीलाई गुमाउनु परेको पीडा छ भने अर्कातर्फ एकजनाको अवस्था अझै अज्ञात रहेको छ । यस्तो अवस्थामा हामीलाई सहानुभूति दर्शाउने सबैप्रति हाम्रो सम्मान छ ।”

साथै परराष्ट्रमन्त्री साउदले अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदार भएको उल्लेख गर्नु हुँदै अमेरिकाले विभिन्न क्षेत्रमा विशेषगरी पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्त्री साउदले विश्वव्यापी रुपमा उत्पन्न जटिल परिस्थितिका बाबजुद नेपाललाई प्राथमिकतामा राखेर अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले द्विपक्षीय वार्ताका लागि उपलब्ध गराउनुभएको समयका लागि आभार प्रकट गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “नेपाललाई अमेरिकी सरकार र अमेरिकी नागरिकले सङ्कटका घडीमा गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” रासस