ललितपुर । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पटकपटक राजनीतिक परिवर्तन भए पनि अपेक्षित आर्थिक तथा सामाजिक रूपान्तरण हुन नसकेको बताउनुभएको छ ।
ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै पाण्डेले २००७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनले मुलुकको आर्थिक रूपान्तरणको अपेक्षा पूरा गर्न नसकेको बताउनुभयो ।
उहाँले जेन–जी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि समाजमा अपेक्षित आशा जाग्न नसकेको उल्लेख गर्दै भ्रष्टाचार अन्त्य र स्वदेशमै रोजगारीको मागसहित भएको आन्दोलनको उद्देश्यअनुसार सुधार हुन नसकेको बताउनुभयो ।
पाण्डेले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्नुको साटो बढिरहेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँका अनुसार गत वर्षको साउनमा ६८ हजार जनाले वैदेशिक रोजगारीमा जान अनुमति लिएकोमा यस वर्षको सोही अवधिमा ७० हजार जनाले अनुमति लिएका छन् ।
उहाँले नागरिकका मुद्दालाई प्राथमिकतामा राख्दै मूलधारमा पुर्याउन ‘नागरिक आवाज अभियान’लाई साझा मञ्चका रूपमा अघि बढाइने बताउनुभयो । अभियानलाई राजनीतिक विकल्पका रूपमा अघि नबढाइएको स्पष्ट पार्दै उहाँले सरकारका कामकारबाहीको निरन्तर निगरानी गर्ने बताउनुभयो ।
“२००७ सालदेखि आजसम्म ७६ वर्षको अन्तरालमा अनेक पटक राजनीतिक परिवर्तन भए तर हाम्रो मुलुकले खोजेको राजनीतिकसँगसँगै आर्थिक रूपान्तरण भएन,” पाण्डेले भन्नुभयो, “सरकार जिम्मेवार, जवाफदेही बन्यो र सही काम गर्यो भने हामी समर्थन पनि गर्छौँ । त्यो नगर्दाखेरी हामी खबरदारी पनि गर्छौँ ।”
पाण्डेले समयक्रमसँगै अभियानलाई थप सुधार गर्दै नागरिकका सुझावका आधारमा अघि बढाइने बताउनुभयो ।








