काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल–चीनबीचको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास, जलवायु परिवर्तन, विपद् उत्थानशीलता तथा प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ।
अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा तान्जानियाको अरूसामा सभामुख अर्यालले चिनियाँ प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट गर्दै दुई देशबीचको सम्बन्ध निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताउनुभएको हो।
भेटमा सभामुख अर्यालले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमि चीनविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाललाई भू–परिवेष्टित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्न चीनले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उहाँले दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
सभामुख अर्यालले हालै रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा बेपत्ता चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो। विपद्का समयमा चीन सरकारबाट प्राप्त आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि परिचालित सुरुङ उद्धार, फरेन्सिक तथा डीएनए विशेषज्ञ टोली, ड्रोनलगायतका सहयोगका लागि उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
भेटका क्रममा नेपाल–चीन संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले दुई देशबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधि सभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तर–संसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आईपीयूको एसिया–प्रशान्त समूहमा नेपाल र चीनका संसद्बीच सहकार्य गर्दै दिगो विकास, जलवायु परिवर्तन, विपद् उत्थानशीलता तथा संसदीय कार्यमा प्रविधिको प्रयोगका क्षेत्रमा अनुभव आदानप्रदान गर्नुपर्ने बताउनुभयो।
नेपालले चीनसँग संसदीय क्षमता अभिवृद्धि तथा दिगो विकासका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्न चाहेको उल्लेख गर्दै सभामुख अर्यालले नेपालमा चीन सरकारको सहयोगमा सञ्चालित विभिन्न विकास आयोजना तथा चिनियाँ लगानीप्रति समेत धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले आगामी दिनमा नेपाल र चीनबीच व्यापार, लगानी, विकास तथा जनस्तरीय र सांस्कृतिक सम्बन्धका क्षेत्रमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।







