काठमाडौं। विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह बिहीबार साँझ राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।
राजधानीको थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहले आगामी ग्रान्ड फिनालेको झल्को दिएको आयोजकले जनाएको छ।
विभिन्न स्थानमा आयोजित अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका २२ जना महिलालाई समारोहमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त तथा सफल व्यक्तित्वहरूले ट्याग नम्बर र स्यास प्रदान गरेका थिए। समारोहमा प्रतिस्पर्धीहरूले आफ्नो परिचयसमेत प्रस्तुत गरेका थिए। स्यासिङ समारोहसँगै उनीहरूलाई प्रतियोगिताका औपचारिक प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिएको आयोजक रिवन इन्टरटेनमेन्टले जनाएको छ।
यस वर्षको प्रतियोगिताको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जनले प्रतिस्पर्धा गर्दैछन्।
रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यसपटकको प्रतियोगितामा विभिन्न पेसा र क्षेत्रका महिलाको सहभागिता रहेको छ। गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसम्मका महिला अन्तिम स्पर्धाका लागि छनोट भएका छन्।
प्रतियोगिताका आयोजक शिला बास्तोलाका अनुसार विभिन्न पेसामा सक्रिय तथा पारिवारिक जिम्मेवारी सम्हालिरहेका महिलालाई आफ्नो प्रतिभा र व्यक्तित्व प्रस्तुत गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको उद्देश्य रहेको छ।
मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुने भएको छ। प्रतियोगिताबाट छनोट हुने मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
अश्विनी झाको कोरियोग्राफीमा आयोजना हुने प्रतियोगिताको सोही मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ। यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।
प्रतियोगिताका सहभागीलाई नृत्य प्रशिक्षण सन्दीप भुजेलले दिनेछन्। करिब ४५ दिनको प्रशिक्षणपछि आयोजना हुने ग्रान्ड फिनालेमा निशा बराइलीले सह–कोरियोग्राफी गर्नेछिन् भने गंगा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा कार्यक्रम सञ्चालन हुनेछ।
रिवन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको प्रतियोगिताको नयाँ संस्करणमा छनोट भएका २२ प्रतिस्पर्धीले अब ग्रान्ड फिनालेका लागि विभिन्न प्रशिक्षण तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी हुने आयोजकले जनाएको छ।








