१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण

पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
अ अ+ अ-

काठमाडौँ। अत्याधुनिक मल्टिप्लेक्स र डिजिटल स्ट्रिमिङ (ओटीटी) प्लेटफर्मको दबदबा रहेको वर्तमान समयमा, दशकौँ पुराना नेपाली चलचित्र हेर्न दर्शकको घुइँचो लाग्ला ? धेरैका लागि यो प्रश्नको उत्तर ‘सायद अहँ, हुन्न’ भन्ने हुन सक्थ्यो ।

तर, नेपाल सरकार, चलचित्र विकास बोर्डले आयोजना गरेको ऐतिहासिक चलचित्र प्रदर्शन शृंखला ‘ओल्ड इज गोल्ड’ले यसको जवाफ हाउसफुल हल, भुइँमै बसेर चलचित्र हेरिरहेका दर्शक र उनीहरूको अभूतपूर्व उपस्थितिमार्फत दिएको छ ।

बुधबार ‘जीवनरेखा’ र ‘बदलिँदो आकाश’को प्रदर्शनसँगै सम्पन्न भएको सात दिने यस शृंखलाले नेपाली चलचित्रको इतिहासलाई केवल अभिलेख र रिलमा मात्र सीमित नराखी दर्शकसम्म पुर्‍याउने सरकारी प्रयासको सफल परीक्षण गरेको छ ।

ठूलो पर्दासम्मको यात्रा

विगत आठ–दस वर्षअघि नै पुराना नेपाली चलचित्रहरूलाई विद्युतीय रूपान्तरण (डिजिटाइज) गर्ने कार्य सुरु भइसकेको थियो। तर, ती अमूल्य सिर्जनाहरूले उचित निकास नपाउँदा अनुसन्धानकर्ता, चलचित्रका विद्यार्थी र आम दर्शकको पहुँचभन्दा बाहिर थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार विद्युतीय रूपान्तरण गरिएका ती चलचित्रहरूको उपयोगिता हुन नसक्नु मुख्य चुनौती थियो । “कलेजका विद्यार्थी र अनुसन्धानकर्ताहरूले हेर्न चाहन्थे तर पाइरहेका थिएनन्। विभिन्न फाउन्डेसनले च्यारिटी गर्छौं भन्दा पनि उपलब्ध गराउन सकिएको थिएन, किनकि यसको व्यवस्थित निकास गरिएको थिएन, “अध्यक्ष डीसीले रासससँग भन्नुभयो, “पछिल्लो महिना हामीले केन्द्रीय चलचित्र जाँच पास समितिबाट यी चलचित्रलाई औपचारिक रूपमा जाँच पास गराई ‘युनिभर्सल सर्टिफिकेट’ लियौँ । त्यसपछि बल्ल एउटा महोत्सवको रूपमा पुराना चलचित्रहरू प्रदर्शनमा ल्याएका हौँ ।”

यही सरकारी पहलकदमीका कारण नेपालको पहिलो चलचित्र ‘आमा’ सहित ‘सिन्दूर’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘मनको बाँध’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ जस्ता नेपाली चलचित्र इतिहासका मानक कृतिहरूले पुनः ठूलो पर्दामा पुनर्जीवन पाएका हुन् ।

दर्शकको उत्साह

‘ओल्ड इज गोल्ड’को सबैभन्दा सबल पक्ष भनेको दर्शकको उत्साहजनक सहभागिता रह्यो । पहिलो दिनको भीडलाई धेरैले केवल ‘उत्सुकता’ माने पनि दोस्रो दिन प्रदर्शन भएका ‘सिन्दूर’ र ‘परिवर्तन’का सबै शो हाउसफुल भए । त्यसपछिका दिनमा पनि यो क्रम निरन्तर रह्यो ।

अध्यक्ष डीसी दर्शकको यो स्तरको प्रतिक्रियाबाट आफू हर्षित भएको बताउनुहुन्छ । “कुनै दिन त दर्शकहरू हलको भुइँ र सिँढीमै बसेर पनि चलचित्र हेर्नुभयो । बाल्यकालमा हेरेका वा चर्चा मात्र सुनेका चलचित्र हेर्नकै लागि कतिपय दर्शकले कार्यालयबाट बिदासमेत लिएर आएको पायौँ,” उहाँले भन्नुहुन्छ ।

कस्ता दर्शकको सहभागिता रह्यो ?

यस ऐतिहासिक चलचित्र प्रदर्शनमा विविध वर्गका दर्शकहरूको उल्लेखनीय सहभागिता रह्यो । विशेषगरी नेपाली सिनेमाको प्राविधिक र कथागत विकासक्रम बुझ्न चाहने चलचित्रका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको उपस्थिति त्यहाँ बाक्लो देखिन्थ्यो । यसका साथै, आफ्नो बाल्यकाल र युवावस्थाको स्मृति ताजा गर्न पुराना पुस्ताका दर्शकहरू सपरिवार हलमा आइपुगेका थिए भने पुराना चलचित्रकर्मीहरू पनि आफ्नै दशकौँ पुराना सिर्जनाहरू दर्शकसँगै बसेर हेर्न उपस्थित थिए ।

सांस्कृतिक सम्बन्धको जीवित चित्र

यो शृंखला केवल चलचित्र प्रदर्शनमा मात्र सीमित रहेन, नेपाली चलचित्रको इतिहास, वर्तमान र भविष्यलाई जोड्ने एउटा महत्त्वपूर्ण सेतु बन्यो । भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठजस्ता अग्रज कलाकारहरूले दीप प्रज्वलन गरी सुरु गरेको कार्यक्रमको समापन अझै अर्थपूर्ण रह्यो ।

समापनका दिन वरिष्ठ कलाकारहरूले नयाँ पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर आशीर्वाद दिनुभएको थियो । प्रथम अभिनेत्री भुवन चन्दले अभिनेत्री सिम्रन खड्कालाई, शिव श्रेष्ठले अरुण क्षेत्रीलाई, निर्देशक लक्ष्मीनाथ शर्माले डा. कपिल रिजाललाई र सन्तोष पन्तले वितरक करण श्रेष्ठलाई खादा लगाइदिँदा नेपाली सिनेमाको साँचो पुस्तान्तरणको दृश्य मञ्चमा कोरिएको थियो ।

कार्यविधि निर्माण र निरन्तरता

‘ओल्ड इज गोल्ड’को सफलतासँगै सरकार र चलचित्र विकास बोर्डमाथि यी ऐतिहासिक सम्पत्तिहरूको व्यवस्थापन र वितरणको दबाब बढेको छ । स्वदेशबाट मात्र होइन, अन्तर्राष्ट्रिय स्तरबाट समेत यी चलचित्र प्रदर्शनको माग आउन थालेको छ ।

“हङकङबाट च्यारिटी शोका लागि यी १० वटै चलचित्र प्रदर्शन गर्न माग आएको छ भने युट्युब च्यानलहरूले पनि माग गरिरहेका छन्”, अध्यक्ष डीसीले भन्नुभयो, “तर यो सरकारी सम्पत्ति भएकाले सजिलै दिन सकिने अवस्था छैन । यसको वितरण र प्रदर्शनका लागि आवश्यक प्रक्रिया र कार्यविधिहरू बनाउनुपर्ने हुन्छ, जसमा हामी काम गर्दैछौँ ।”

यदि यी चलचित्रहरू युट्युब वा सामाजिक सञ्जालमा सहजै उपलब्ध भइदिएको भए हलमा यस्तो उत्साहजनक प्रतिक्रिया नआउने बोर्डको निष्कर्ष छ । पुराना चलचित्रको वास्तविक संरक्षण भनेको तिनलाई रिल वा हार्डड्राइभमा थन्क्याउनु मात्र होइन, दर्शकको पहुँचमा पुर्‍याउनु हो भन्ने तथ्य यसले प्रमाणित गरेको छ ।

उद्घाटनकै दिन अध्यक्ष डीसीले हरेक महिना पुराना चलचित्रको विशेष शो आयोजना गर्ने र त्यसबाट प्राप्त रकम ‘चलचित्र कल्याणकारी कोष’मा जम्मा गर्ने घोषणा गर्नुभएको थियो । सात दिनको दर्शक सहभागिताले उक्त सरकारी योजनालाई दरिलो आधार र हौसला प्रदान गरेको छ । रासस