काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदसहित ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा हासिल गर्न खेलकुदको तल्लो तहदेखि दीर्घकालीन लगानी आवश्यक रहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले विगतमा ‘ग्रासरुट’ तहमा पर्याप्त लगानी हुन नसक्दा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर भएको बताउनुभयो ।
“एसियाली खेलकुदलगायत अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा पदक जित्न नसक्नु वा नतिजा कमजोर हुनुको मुख्य कारण विगतमा ग्रासरुट तल्लो तहदेखि उल्लेख्य र प्रभावकारी लगानी हुन नसक्नु हो । खेलकुदमा आज लगानी गरेर भोलि नै नतिजा वा पदक आउँदैन, यसका लागि दीर्घकालीन लगानी आवश्यक हुन्छ”, मन्त्री पोखरेलले भन्नुभयो ।
खेलकुद पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समझदारी भई देशका २७ स्थानमा कभर्ड हल, क्रिकेट तथा फुटबल रङ्गशालालगायत पूर्वाधार निर्माण अघि बढाइएको उहाँले जानकारी दिनुभयो । विभिन्न प्रतियोगितामा सफलता हासिल गरेका खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरिएकामा पुरस्कार प्राप्त नभएकाको हकमा अर्थ मन्त्रालयसँग समन्वय गरी आर्थिक स्रोत सुनिश्चित गरेर उपलब्ध गराइएको जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले घरेलु लिग सञ्चालनको विषयमा खेलाडीहरूसँग छलफल गरिएको भन्दै घरेलु लिग सञ्चालनका लागि तयारी भइरहेको बताउनुभयो । “खेलाडीहरूसँग छलफल गर्दा वर्षौँदेखि घरेलु लिग नभएको विषय मुख्य रूपमा उठेको छ । त्यसैले घरेलु लिग सञ्चालन गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । निजी क्षेत्रको लगानीमा ‘फ्रेन्चाइज’ तथा ‘कपमोडल’का प्रतियोगिता सञ्चालन गर्न सरकार सकारात्मक रहेको उहाँको भनाइ छ ।
निजी क्षेत्रले नेपाल सुपर लिग (एनएसएल) लगायत फ्रेन्चाइज प्रतियोगिता सञ्चालन गर्न चाहेमा सरकारले आवश्यक सहजीकरण गर्ने मन्त्री पोखरेलले बताउनुभयो । “निजी फ्रेन्चाइजले कपमोडलमा प्रतियोगिता सञ्चालन गर्न चाहेमा सरकार सकारात्मक छ”, उहाँले भन्नुभयो । रासस








