सोमनाथ लामिछाने
नर्बेको सुदूर उत्तरमा अवस्थित नोर्डक्याप (नर्बेली भाषामा नूरक्याप) नर्बेली र युरोपेली मुलुकका प्रत्येक व्यक्तिका लागि जीवनको एक सपनाको गन्तव्यस्थल हो । भनिन्छ, उत्तरी नर्बेमा छ महिना दिनरात घाम लाग्छ र छ महिना अन्धकार हुन्छ । त्यही कारण हामीजस्ता नेपालीलाई यहाँ बर्खायाम नै घुम्नका लागि उपयुक्त हुने रहेछ । नोर्डक्याप युरोपको उत्तर तर्फको जमिनको अन्तिम विन्दु पनि हो । यो ठाउँबाट उत्तरतर्फ फर्केर हेर्दा सुदूर क्षितिजसम्म आर्कटिक महासागर (आर्कटिक सर्कल) मात्र देख्न पाइन्छ । जमिनको कतै टुक्रा देखिन्न ।
सौभाग्य नै मान्नुपर्छ, नर्बेको उत्तरी शहर ट्रम्सोमा रहेका छोरी सदिक्षा लामिछाने र ज्वाइँ सूर्य काफ्लेको आतिथ्यमा यसपटक नर्बे घुम्ने सुअवसर प्राप्त भयो । समर सिजन (बर्खायाम) मा नर्बे घुम्न अझ रमाइलो हुने रहेछ किनभने यस सिजनमा मौसम सफा हुने, रातदिन घाम लाग्ने, जताततै हरियाली हुने रहेछ । तर हिउँदका महिनामा नर्बेको अधिकांश उत्तरी भेग अन्धकारमा डुब्ने र हिउँ मात्र पर्ने रहेछ । पर्यटकहरु पनि मिडनाइट सन (मध्यरातको सूर्य) हेर्नकै लागि समर सिजनमा उत्तरी नर्बे पुग्ने रहेछन् ।

समर सिजनको यही मौका छोपेर छोरीज्वाइँको आतिथ्यमा मैले पनि नर्बे घुम्ने अवसर पाएको थिएँ । छोरीज्वाइँ बस्दै गरेको उत्तरी नर्बेको सुन्दर नगर ट्रम्सोको भव्य प्राकृतिक छटाले मन्त्रमुग्ध बनाएकै थियो । यही मेसोमा ट्रम्सोबाट झण्डै ६०० किलोमिटर पूर्वउत्तरमा अवस्थित नोर्डक्याप घुमाउन लैजाने भन्नासाथ मनमा अझ कौतुहल बढेको थियो ।
हामी सात जना दुई वटा कार लिएर जुलाई २४, शुक्रबार साँझपख नोर्डक्यापका लागि ट्रम्सोबाट प्रस्थान गर्यौं । हाम्रो टोलीमा ज्वाइँ सूर्य काफ्ले, मेरा पुराना आत्मीय मित्र टेकबहादुर गिरि, ओस्लोदेखि आउनु भएका शिब बेल्वासे र उहाँकी दिदी, साथी अरुण र उनकी नवविवाहिता पत्नी थियौं । ट्रम्सोबाट अपराह्न करिब ४ बजे खाना¬खाजाका सरसामान समेत बोकेर हामी आल्टा शहर तर्फ लम्कियौं । हामी आल्टा पुग्दा रातको करिब १० बजेको थियो ।

आल्टामा मित्र टेक जी ले पहिल्यै बुक गरेको एयरबिएनबी (भाडाको घर) मा गुगल म्यापको सहारामा ढोकामै पुग्यौं । ढोका खोलेर भित्र हेर्दा तीन वटा बेडरुम, एउटा लिभिङ रुम र किचेन, बाथरुम सबै रहेछ । किचनमा खाना पकाउने भाँडाकुँडा, प्लेट, काँटाचम्चा, डिसवासर (भाँडा धुने), फ्रिज, डाइनिङ टेबल समेत सम्पूर्ण सुविधा उपलब्ध रहेछ ।
म बाहेक अरु सबै जना मिलेर त्यहाँ खाना पकाउने काम भयो, र करिब १२ बजे खाना खायौं । त्यस घरको बार्दलीबाट राति १२ बजे हेर्दा आल्टा शहर उज्यालै देखिन्थ्यो । राति १२ बजे पनि सुदूर क्षितिमा सूर्यको साँझपखको लाली थियो, गोधुली प्रकाश थियो । अर्थात् सूर्य अस्ताएकै थिएन, एकछिन पछि सूर्योदय हुन्छ भन्दै थिए साथीहरु ।

झण्डै ३०० किलोमिटर यात्रा गरेकाले हामी केही थाकेका थियौं । हुनत, चिल्लो सडक र पहाड छेडेर (टनेल) राजमार्ग बनाइएकाले उकालो ओरालो केही थिएन, गाडी सररर गुडेका थिए । सडक निर्माण गर्दा प्राकृतिक सन्तुलन बिग्रेको कतै अनुभव हुन पाएन । तैपनि, थाकेको शरीर भएकाले होला भोलिपल्ट बिहान हामी करिब ८ बजे मात्र उठ्यौं, र बिहानको खाजा (ब्रेकफास्ट) खाएर आल्टा तर्फ लाग्यौं ।
आल्टा शहर सानै छ । तथापि E-6 नामको राष्ट्रिय सडक मार्गबाट नोर्डक्याप जानेहरु आल्टा पुग्ने गर्दछन् । यहाँ हामी करिब २ घण्टा अल्मलियौं । यस शहर र आसपासका क्षेत्रमा नेपालीहरु पनि अध्ययनका लागि आउने र केही नेपालीको यहीँ बसोबास रहेछ । आल्टाको सिटी सेन्टर निकै रमाइलो रहेछ । स्थानीयबासीको किनमेलको मुख्य ठाउँ यस सेन्टरमा पर्यटक समेतका कारण खचाखच हुने रहेछ । काठमाडौंका पाँच वटा भाटभटेनी बराबरको यो एउटै सिटी सेन्टर रहेछ । रेस्टुराँ, औषधि पसल, लत्ताकपडा, घरायासी समेतका अनेकथरि सामान यही सेन्टरभित्र पाइने रहेछ ।
आल्टाबाट हामी दिउँसो १ बजेतिर उत्तरतर्फ लाग्यौं । त्यहाँबाट उत्तर लाग्दै गएपछि आल्टासम्म देखिएका हरिया रुखहरु साना हुन थाले । पहाडहरु होचा हुन थाले । मसिनो घाँस भएका ठूल्ठूला पाटन देखिए । कतै समुद्र, कतै टनेल हुँदै हामी गन्तव्यतर्फ निरन्तर लाग्यौं । हामी अपराह्न ४ बजेतिर होनिङ्सभाग पुग्यौं । त्यहाँ एउटा बडेमानको झण्डै १० तलाको क्रुज (पानीजहाज) तटमा रोकिराखेको थियो । मित्र टेक जी का अनुसार ओस्लो, बर्गेन, ट्रम्सो तिरबाट यहाँ क्रुजबाट मानिसहरु आउँछन् । फाइभ स्टार होटेल सरहको सुविधा उपलब्ध हुने यो क्रुजयात्राका लागि पहिल्यै अग्रीम टिकट लिनु पर्ने रहेछ ।

होनिङ्सभाग सानो बजार हो । यहाँ मुस्किलले तीन चार सय घर होलान् । यहाँ एउटा सानो एयरपोर्ट पनि रहेछ । नोर्डक्याप आउन चाहनेहरु हवाई मार्गको पनि उपयोग गर्न सक्ने रहेछन् । यस शहरमा झण्डै पाँच वर्षअघि छोरी सदिक्षाले पहिलो पटक फार्मासिस्टको काम पाएको ठाउँ रहेछ । उनी तीन महिना यस सानो, बिरानो तर सुन्दर सहरमा हिउँदका दिनहरुमा बसेर काम गरेको भएकाले पनि मनमा उत्सुकता थियो । हामीले उनले काम गरेको ठाउँ भेट्टायौं । फोटो खिचें ।
होनिङ्सभाग खासमा नोर्डक्यापको प्रवेशद्वार रहेछ । यस ठाउँबाट नोर्डक्याप करिब ३४ किमि टाढा छ, तर पिच सडक साँघुरो र केही घुमाउरो पनि भएकाले त्यहाँ पुग्न करिब एक घण्टा लाग्छ । हामी वरिपरिको दृश्यावलोकन गर्दै अगाडि बढ्यौं । सडकका दायाँदायाँका पाटनमा रेनडियर (बाह्रसिंगा मृग) चरिरहेका देखिन्थे । टेक जी का अनुसार, सामी समुदायको मुख्य बसोबास रहेको उत्तरी नर्बेमा रेनडियर नै उनीहरुको जीविकोपार्जनको एउटा आधार हो ।
उत्तरी नर्बेमा सामी समुदायको स्वामित्वमा कति रेनडियर छन् भन्ने एकिन तथ्याँक नभए पनि छ हजारभन्दा बढी रेनडियर रहेको अनुमान गरिएको छ । सामी समुदायका केही व्यक्तिले यिनै रेनडियरका सिङ, छाला, रौं इत्यादिबाट बनेका सामान पनि उपहारका रुपमा बेच्ने गरेको पाइयो । जंगलमा छाडा छाडिएका देखिए पनि यी रेनडियर सामी समुदायका व्यक्तिबाहेक जोकोहीले शिकार गर्न पाउँदैनन् ।
नोर्डक्याप जाने मार्गका दायाँबायाँ टाढाटाढाबाट आएका पर्यटकहरु ससाना टेन्टमा पनि बसेका थिए । सायद उनीहरु राति त्यतै बस्ने सुरसार गरिरहेका थिए । सडकमा बेलाबेला साइकल यात्री पनि भेटिन्थे । पछि नोर्डक्यापमा भेटिएका कतिपय साइकल यात्रीलाई सोध्दा थाहा भयो, उनीहरु नर्बेको राजधानी ओस्लो र युरोपकै विभिन्न मुलुकबाट दुई तीन महिना लगाएर साइकलमा त्यहाँ पुगेका रहेछन् ।
सामान्यतया, नोर्डक्याप प्रवेशमा अक्टोबरदेखि अप्रिलसम्म सर्वसाधारणलाई रोक लगाइँदो रहेछ । विषम मौसम र निष्पट्ट अँध्यारो हुने भएकाले पनि यहाँ विशेष गाइडको सहायतामा मात्र जाने गरेको टेक जी ले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदका दिनमा यो ठाउँमा जोकोही व्यक्ति आउने कल्पनासम्म गर्न सकिन्न ।

हाम्रो टोली अपराह्न ४ बजेतिर नोर्डक्याप पुग्यो । त्यहाँको पार्किङमा सयौं गाडी, क्याराभान थिए । हामी सबै प्रभुल्लित भयौं । समुद्रको सतहबाट करिब ३०० मिटर अग्लो डाँडा नोर्डक्यापबाट उत्तरतिर आँखाले भ्याएसम्म आर्कटिक अर्थात् पृथ्वीको उत्तरी ध्रुव (उत्तरी गोलार्ध) मा अवस्थित महासागर हेर्यौं । टाढासम्म कतै पनि जमिन थिएन, केबल पानी पानी थियो । हामी त्यसदिन भाग्यमानी थियौं किनभने हामी पुगेको दिन मौसम सफा थियो, घाम लागेको थियो, हावा पनि खासै बेगले चलेको थिएन । अर्थात् त्यहाँको वातावरण शान्त थियो, तर मानिसहरुको कल्याङमल्याङ चर्कैै थियो ।
नोर्डक्यापमा राखिएको पृथ्वी दर्शाउने फलामको ठूलो ग्लोबलाई दायाँबायाँ, अगाडि पछाडि पारेर तस्बिर र भिडियोमा कैद गर्न पर्यटकहरु तँछाडमछाड गरिरहेका थिए । हामी पनि जीवनको यस अवसरलाई छोप्न प्रयासरत थियौं । कतिपय पर्यटक रातभर त्यहीँ बस्नेगरि तयारी गरिरहेका थिए, किनभने उनीहरु मौसमी अनुकूलताका कारण मिडनाइट सन (मध्यरातको सूर्य) को मजा लिन उत्सुक थिए । यहाँबाट मध्यरातको सूर्य खासमा मे १२ देखि जुलाई ३१ सम्म राम्रोसँग देखिन्छ ।
हामी भने त्यहाँ करिब २ घण्टा बिताएर आल्टा फर्कियौं । रात आल्टामै बसेर भोलिपल्ट हामी ट्रम्सो फर्कियौं । तीन दिनको यो यात्रा अविस्मरणीय रह्यो । यो अवसर जुटाउने सबैप्रति नमन ।









