२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन

गैँडा संरक्षणमा चितवन राष्ट्रिय निकुञ्ज

गैँडा संरक्षणमा चितवन राष्ट्रिय निकुञ्ज
अ अ+ अ-

चितवन । गैँडा गणना २०१५ अनुसार हाल नेपालमा ६४५ ओटा एक सिङ्गे गैँडा छन् । प्राचीन समयमा नेपाल, भरत, चीन, पाकिस्तान र बर्माका केही भागमा गैँडा पाइने गरेको भए पनि अहिले नेपाल र भारतमा मात्रै एक सिङ्गे गैँडा अस्तित्वमा रहेका छन् । विसं २००७ सम्म ८५० भन्दाबढी सङ्ख्यामा रहेको एक सिङ्गे गैँडा चोरी शिकारीको निशानामा पर्ने गरेको छ । गैँडाको खाग र खुर विश्व बजारमा अवैध रुपमा महङ्गो मूल्यमा बिक्री हुने भएकाले पनि यसको चोरी शिकारी हुने गरेको हो । गैँडाको खागले यौनवद्र्धक औषधिको काम गर्ने अन्धविश्वासका कारण चीनमा यसको गैरकानुनी रुपमा बिक्री हुँदै आएको बताउने गरिन्छ । 

नेपालबाट मारिएका गैँडाको खाग चीनमा लगेर बिक्री गर्ने गरिएको संरक्षणकर्मी बताउँछन् । विसं २००७ अघिसमम ८५० भन्दा बढीको सङ्ख्यामा रहेका गैँडा २०१३ तिर १०० को सङ्ख्यामा झरेको थियो । विसं २०१४ मा ४००, त्यसको दुई वर्ष पछाडि ३०० गैँडा मात्रै जीवित रहेको चितवन राष्ट्रिय निकुञ्जको भनाइ छ । चोरी शिकारीका कारण नेपालमा गैँडा मार्ने क्रम नरोकिएपछि २०१९ सालमा गैँडा संरक्षणको लागि अवधारणा तयार पारेर राप्ती नदीको दक्षिणी भागमा महेन्द्र मृगकुञ्ज बनाएर गैँडा संरक्षणको लागि पहल भएको पाइन्छ । 

मृगकुञ्ज स्थापनासँगै चितवनका गैँडा जोगाउनको लागि अवकासप्राप्त सैनिकद्वारा २०२३ सालदेखि गैँडा गस्ती शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले बताउनुभयो । गैँडा गस्ती शुरु भएपछि २०२५ सालमा गैँडाको सङ्ख्या केही बढेर १०८ पुगेको उहाँको भनाइ छ । गैँडा संरक्षणको काम निकै चुनौतीपूर्ण रहेकोले यसको संरक्षणमा निकुञ्ज र सेनाका साथै समुदायको पनि ठूलो भूमिका रहेको कुँवरले बताउनुभयो । 

गैँडालगायतका लोपोन्मुख वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले २०२९ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन बन्यो । ऐन आउनुभन्दा १५ वर्ष अगाडि नै मस्यौदा बनेको भएपनि राष्ट्रिय निकुञ्ज ऐन आउने बेलासम्म गैँडाको बासस्थानको पहिचान समेत गरिसकिएको थियो । चितवन र यसको वरिपरीका क्षेत्रमा रहेका दुर्लभ वन्यजन्तुको संरक्षण गर्दै सुरक्षा परिचालन गर्ने, अनुमतिबिना प्रवेश निषेध गर्दै चितवनको केही जङ्गली क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्दै विसं २०३० नेपालकै पहिलो राष्ट्रिय निकुञ्जको रुपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरियो । 

लोपोन्मुख प्रजातिका वन्यजन्तुहरुको संरक्षण गर्न भन्दै चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका केही भाग समेट्दै स्थापना गरिएको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल अहिले ९५२ वर्ग किलोमिटर रहेको छ । शुरुआती अवस्थामा चार जिल्लाको ५४४ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेर निकुञ्ज स्थापना गरिँदा चितवनमा १४७ ओटा गैँडा थिए । अवकास प्राप्त सेनाले गस्ती गरेपछि निकुञ्जमा गैँडाको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको पाइन्छ । अवकास प्राप्त सैनिकबाट मात्रै गैँडाको सुरक्षा सम्भव नभएपछि निकुञ्ज स्थापनाको दुई वर्ष पछाडि नै २०३२ सालबाट नेपाली सेनालाई गैँडा संरक्षणको लागि चितवन राष्ट्रिय निकुञ्जमा परिचालन गरियो । निकुञ्ज स्थापनाको पाँच वर्षपछि २०३५ सालमा नै यसको क्षेत्र विस्तार गर्दै ९३२ वर्ग किलोमिटर पुर्याइएको थियो । निकुञ्जको क्षेत्र विस्तारसँगै २०५३ सालमा आएर मध्यवर्ती क्षेत्र समेत घोषणा गरियो । 

सरकारले निकुञ्जको वरिपरीको क्षेत्रलाई समेट्दै मध्यवर्ती क्षेत्र घोषणा गरेसँगै वन्यजन्तु संरक्षणमा स्थानीयवासीलाई समेत सहभागी गराउन थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानदेखि विभिन्न अभियानका कारण निकुञ्ज प्रभावितहरु समेत वन र वन्यजन्तु संरक्षणमा चासो दिँदै आएका बरालको भनाइ छ । चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज एक्लैको प्रयास सार्थक नहुने र यसका लागि सबैको भूमिका महत्वपूर्ण रहने बरालले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको वरिपरी रहेका चितवन, नवलपरासी, मकवानपुर र पर्साको ७५० वर्गकिलोमिटर क्षेत्रफललाई समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरी निकुञ्जको आम्दानीको ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रका बासिन्दालाई दिने व्यवस्था गरियो । यससँगै चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको छ । गैँडा संरक्षणको लागि चुनौती पहिचान गरी नियमित गस्तीको काम शुरु गरेपछि चितवन राष्ट्रिय निकुञ्जले चार पटकसम्म शून्य चोरी शिकारी नियन्त्रण वर्ष मनाउन सफल भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जमा रहेका विश्वकै दुर्लभ वन्यजन्तु गैँडा संरक्षणको लागि नेपाली सेनाले स्वीपिङ अप्रेसन, दैनिक पेट्रोलिङ, वासस्थान व्यवस्थापन, अप्रेशन महाहन्ट जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको रामको भनाइ छ । निकुञ्जले सन् २०११ मा पहिलो पटक शून्य चोरी शिकारी वर्ष मनाएको थियो । त्यसपछि सन् २०१३ मा शून्य चोरी शिकारी वर्ष मनाएको निकुञ्जले लगातार २०१५ र १६ मा समेत शून्य चोरी शिकारी वर्ष मनाउन सफल भएको रामले बताउनुभयो । शून्य चोरी शिकारीमा निकुञ्ज, सेना र समुदायको महत्वपूर्ण भूमिका रहेको रामको भनाइ छ ।  सेनाले निकुञ्जको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दाखेल्दै पनि उनीहरुको आँखा छलेर शिकारीले गैँडा मार्दै आएका छन् । लगातार तेस्रो पटक शून्य चोरी शिकारी वर्ष मनाउने तयारीमा रहेको निकुञ्जमा मुख्यालय कसरा नजिकै २०७३ चैत २५ गते राति गैँडा मारेपछि सुरक्षा चुनौती थपियो । विसं २०७४ को वैशाख २० गते निकुञ्जले लगातार तेस्रो र समग्रमा पाचौँ पटक शून्य चोरी शिकारी नियन्त्रण मनाउने तयारी गरिरहँदा जगतपुरमा गैँडा मारिएको थियो । 

त्यसपश्चात निकुञ्जमा बढाइएको सुरक्षा सावधानीका कारण केही वर्ष निकुञ्जमा चोरी शिकारीका कारण गैँडाको मृत्यु भएको थिएन । करिब साढे तीन वर्ष पछि पुनःगत भदौ २१ गते चोरी शिकारीका कारण एउटा गैँडाको मृत्यु भएको  छ । यद्यपि उक्त गैँडाको खाग र खुर भने सुरक्षित रहेको सहायक संरक्षण अधिकृत रामले जानकारी दिनुभयो । सङ्क्रमणकालको फाइदा उठाउँदै शिकारीले निकुञ्जका गैँडाहरु आफ्नो पासोमा पार्ने गरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । विशेष गरी सेनाको गण परिवर्तन हुने समयमा निकुञ्जमा चोरी शिकारी बढ्ने गरेको उहाँको भनाइ छ । हालको सामान्य अवस्थामा बाहेक द्वन्द्वकालमा निकुञ्जका धेरै गैँडा चोरी शिकारीका कारण मरेका उहाँले बताउनुभयो । 

निकुञ्जमा सेनाले सुरक्षा दिएपछि बढ्दै गएको गैँडाको सङ्ख्या नेपालभर २०५७ सालमा ६१२ पुग्यो । त्यसपछिको केही समय मुलुकको आन्तरिक द्वन्द्वको चपेटामा गैँडासमेत परेको देखिन्छ । विसं २०५९ मा गैँडाको सङ्ख्या घटेर ५४४ पुगेको थियो । लगत्तै २०६२ सालमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या ३७२ मा झरेको देखिन्छ । त्यो समयमा नेपालभर ४०९ वटा मात्रै गैँडा रहेका थिए । नेपालमा शान्ति प्रक्रियाको थालनी भएपछि भने गैँडाको संरक्षण समेत विस्तारै बढ्दै गएको बरालले बताउनुभयो ।

 सन् २०१५ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवनमा ६०५ तथा नेपाल भर ६४५ वटा गैँडा पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सेनाको पोस्ट द्वन्द्वकालमा सात ओटामा खुम्चिएको थियो भने अहिले ५६ ठाउँमा पोस्ट स्थापना गरिएको छ । विसं २०५२ देखि २०७३ सालसम्म निकुञ्जको गैँडा मुद्दामा फरार रहेका विभिन्न अभियुक्तहरु पक्राउ गर्न सुरक्षाका सबै संयन्त्रसँग सहकार्य गरिएको छ । निकुञ्जले हालसम्म १५० भन्दा बढी व्यक्तिलाई गैँडा मुद्दामा कारवाही गरिसकेको छ ।

त्यस्तै गैँडा मारेको घटनामा संलग्न रहेको आरोपमा विभिन्न एक सयभन्दा बढी व्यक्तिको खोजी कार्य जारी राखेको छ । गैँडा मुद्दामा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँ जरिवाना वा दुवै सजायँको व्यवस्था गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैँडा विभिन्न समयमा बर्दिया र शुक्लाफाँटामा समेत स्थानान्तरण गरिदै आएको छ । सन् २००० देखि चितवनका गैँडा बर्दिया र कञ्चनपुर लैजान लागिएकोमा सन् २०१७ सम्म १०० गैँडा स्थानान्तरण गरिसकिएको छ । स्थानान्तरण गरिएकामध्ये अहिले ४० वटा गैँडा मात्रै ज्यूँदा रहेका छन् । नेपालबाट दुई वटा गैँडा उपहारस्वरुप चीनलाई प्रदान गरिएको छ ।