काठमाडाैँ । बाँकेका किसान छिटो र बढी उत्पादनको खोजीमा भौतारिँदा स्थानीय बालीका धेरै जात हराउन थालेका छन् । कोहलपुर नगरपालिकाको मैटहवामा भइरहेको दुई दिने १६ औँ राष्ट्रिय जिन बैंक स्थापना दिवसमा किसानसँग रैथाने तथा स्थानीय बालीका बीउ, तिनका विशेष गुण, संरक्षण र उपयोगिताबारे छलफल गरिएको हो ।
कोहलपुरका किसान तथा सामुदायिक जिन बैंक, गाभर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले अहिले छिटो उत्पादन हुने बाली खोज्ने गरेका उल्लेख गर्दै आफ्नै ठाउँमा पुस्तौँदेखि प्रयोग हुँदै आएका बीउ हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रैथाने बालीका धेरै बीउ र जात नष्ट भइसकेका छन्, बाँकी बीउलाई जोगाउन पनि वास्तवमै चुनौतीपूर्ण छ ।”
बस्नेतले स्थानीय बीउ जोगाउने काम अनुसन्धान संस्था वा सरकारी निकायको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै किसान आफैँले बीउ जोगाउने र एकअर्काबीच आदानप्रदान गर्ने परम्परालाई बलियो बनाउन सके स्थानीय बालीको विविधता जोगाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि स्थानीयस्तरमा सामुदायिक बीउ बैंक स्थापना गर्ने सम्भावना खोज्नुपर्ने हुन्छ ।”
दुई दिनसम्म हुने छलफलका क्रममा आज धानका जङ्गली जात तथा अन्य अर्धजङ्गली प्रजातिको पहिचान र तिनको उपयोगिताबारे किसानसँग छलफल गरिने छ । अहिले खेतमा उत्पादन नदिने वा सामान्य देखिने कुनै बालीको जात भविष्यमा कृषि अनुसन्धान र नयाँ जात विकासका लागि महत्त्वपूर्ण आनुवंशिक स्रोत बन्न सक्ने विषयमा समेत किसानलाई जानकारी दिइएको सामुदायिक जिन बैंकका अध्यक्ष बस्नेतको भनाइ छ । “आज जङ्गली धानको अवस्था कस्तो छ र त्यसबाट आउने बीउ कस्तो हुन्छ भनेर अवलोकन गर्दैछौँ”, उहाँले भन्नुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) राष्ट्रिय जिन बैंक बाली प्रजननविज्ञ डा मुकुन्द भट्टराईले स्थानीय जातका बालीप्रति पछिल्लो समय बजारको मागसमेत बढ्दै गएको उल्लेख गर्दै बजारको मागलाई ध्यानमा राखेर किसानले उत्पादन गर्नसके संरक्षणसँगै आम्दानीको आधार पनि बलियो हुने बताउनुभयो । “रैथाने बाली जोगाएर मात्र हुँदैन त्यसको उत्पादनलाई बजारसँग जोड्नुपर्छ”, उहाँले भन्नुभयो, “बीउ संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई सँगसँगै अघि बढाउन सके किसानलाई पनि लाभ हुन्छ र स्थानीय बाली पनि जोगिन्छ ।”
स्थानीय बालीमा रहेका विशेष गुण खाद्य तथा पोषण सुरक्षाका लागि उपयोगी हुने भएकाले तिनको संरक्षण भविष्यको कृषि प्रणालीका लागि समेत आवश्यक रहेको डा भट्टराईको भनाइ छ । किसानबीच बीउ आदानप्रदान र परम्परागत खेतीसम्बन्धी ज्ञानको हस्तान्तरणलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामुदायिक जिन बैंकका अध्यक्ष बस्नेतका अनुसार रैथाने बालीको बीउसँग केवल उत्पादनको इतिहास जोडिएको छैन, त्यससँग स्थानीय माटो, हावापानी, खानपान र किसानको पुस्तौँदेखिको ज्ञान पनि जोडिएको छ । उहाँले स्थानीय जातका बालीको बीउ र उत्पादन संरक्षण तथा प्रवर्द्धनका लागि नार्क, राष्ट्रिय जिन बैंक र विज्ञसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
यस वर्षको राष्ट्रिय जिन बैंक स्थापना दिवसको मूल नारा ‘कृषि आनुवंशिक स्रोतका विशिष्ट तथा विशेष गुणयुक्त भूमिजात तथा प्रजातिहरूको खोज’ रहेको थियो । दुर्लभ तथा स्थानीय बालीका जात पहिचान, संरक्षण र दस्ताबेजीकरणसँगै किसानलाई जैविक विविधताको संरक्षकका रूपमा जोड्ने प्रयास गरिएको डा भट्टराईले बताउनुभयो ।








