सेतो छडी २० औँ शताब्दीका महत्वपूर्ण चरणहरू पार गर्दै सामान्य हिँड्ने लौरोबाट स्वतन्त्रताको महत्वपूर्ण प्रतीक तथा सक्रिय गतिशीलता (Mobility) को साधनका रूपमा विकसित भयो । ब्रिस्टलका जेम्स बिग्सले सन् १९२१ मा सेतो छडीको आविष्कार गरेको दाबी गरेका थिए । एउटा दुर्घटनाका कारण आफ्नो दृष्टि गुमाएपछि ती व्यक्तिले आफ्नो वरपरको वातावरणसँग पुनः समायोजन गर्नुपरेको थियो । हरेक वर्ष अक्टोबर १५ लाई अन्तर्राष्ट्रिय सेतो छडी दिवस (White Cane Day) का रूपमा मनाइन्छ ।
दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूका लागि सेतो छडी हिँडडुल गर्ने एउटा साधारण सहायक सामग्री मात्र नभई: यो स्वतन्त्रता, आत्मनिर्भरता, पहिचान, सुरक्षा र समान सहभागिताको प्रतीक हो । सेतो छडीले दृष्टिविहीन व्यक्तिलाई बाटोमा रहेका अवरोध, उचाइ तथा सतहमा भएका परिवर्तन पहिचान गर्न सहयोग गर्नुका साथै उनी दृष्टिविहीन व्यक्ति हुन् भन्ने कुरा वरपरका देख्ने मानिसलाई संकेत पनि गर्छ ।
सामान्य लठ्ठी र सेतो छडी हेर्दा उस्तै जस्तो देखिन सक्छन् । तर यसको उद्देश्य र सामाजिक अर्थ फरक छ । सेतो छडी अन्तर्राष्ट्रिय रूपमा दृष्टिविहीनता वा दृष्टिसम्बन्धी अपाङ्गताको पहिचान गराउने महत्वपूर्ण संकेतका रूपमा स्थापित भएको छ । अनुसन्धानहरूले पनि लामो सेतो छडीलाई दृष्टिविहीन व्यक्तिको स्वतन्त्र र सुरक्षित गतिशीलताको प्रमुख साधनका रूपमा वर्णन गरेका छन् । यसले जमिनमा रहेका अवरोध, खाल्डाखुल्डी, भर्याङ, सडकको किनारा तथा सतह परिवर्तनबारे जानकारी प्राप्त गर्न सहयोग गर्छ ।
दृष्टिविहीन व्यक्तिले हातमा सेतो छडी लिएर सडकमा हिँडिरहेको देख्दा चालक, पैदलयात्री तथा अन्य नागरिकले उनी दृष्टिविहीन व्यक्ति हुन् भन्ने कुरा सहजै बुझ्न सक्छन् । यसले आवश्यक अवस्थामा सहयोग गर्ने, सवारी साधनको गति कम गर्ने तथा सुरक्षित रूपमा बाटो पार गर्न दिने सामाजिक व्यवहार विकास गर्न मद्दत गर्छ । तर यहाँ एउटा महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ – दृष्टिविहीन व्यक्तिलाई सहयोग गर्नु दया मात्र होइन, अधिकारको सम्मान हो । दृष्टिविहीन व्यक्तिले पनि अरू नागरिकसरह स्वतन्त्र रूपमा हिँडडुल गर्न, शिक्षा लिन, रोजगारी गर्न, सार्वजनिक सेवा उपयोग गर्न र सामाजिक जीवनमा सहभागी हुन पाउनुपर्छ ।
सडक पार गर्ने क्रममा सेतो छडी देखिएको अवस्थामा चालकले विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ । दृष्टिविहीन पैदलयात्रीको सुरक्षाका लागि चालकले गति कम गर्ने, आवश्यक परे रोकिने र सुरक्षित रूपमा बाटो पार गर्न दिने संस्कारको विकास गर्नुपर्छ । यसका लागि ट्राफिक नियमसँगै दृष्टिविहीन पैदलयात्रीप्रतिको संवेदनशीलता पनि उत्तिकै आवश्यक छ ।
नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिको अधिकारलाई मौलिक अधिकारकै रूपमा स्वीकार गरेको छ । संविधानको धारा १८ ले अपाङ्गताको आधारमा भेदभाव गर्न नहुने व्यवस्था गरेको छ । त्यसैगरी धारा ४२ ले अपाङ्गता भएका व्यक्तिलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको अधिकार सुनिश्चित गरेको छ । संविधानको सामाजिक न्यायसम्बन्धी व्यवस्थाले अपाङ्गता भएका नागरिकलाई राज्यको मूल प्रवाहमा सम्मानजनक सहभागिताको आधार प्रदान गर्दछ । त्यसैगरी संविधानको धारा ३१ अन्तर्गत शिक्षाको हक र अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको संवैधानिक प्रत्याभूतिले दृष्टिविहीन व्यक्तिका लागि आवश्यक सहायक सामग्री र पहुँचयुक्त वातावरण सुनिश्चित गर्ने राज्यको दायित्वलाई थप बलियो बनाउँछ । संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने तथा सार्वजनिक सेवा र सुविधामा समान पहुँचको हक दिएको छ । यस अर्थमा हेर्दा, दृष्टिविहीन व्यक्तिलाई गुणस्तरीय सेतो छडी उपलब्ध गराउनु केवल कल्याणकारी कार्य होइन; यो सम्मानपूर्वक र स्वतन्त्र जीवनयापन गर्न पाउने अधिकारको कार्यान्वयनसँग सम्बन्धित विषय हो ।
नेपालको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ ले दृष्टिसम्बन्धी अपाङ्गताको वर्गीकरण तथा अधिकारसम्बन्धी कानुनी आधार प्रदान गरेको छ । ऐनले दृष्टिविहीनता र न्यून दृष्टियुक्त अवस्थालाई स्पष्ट रूपमा परिभाषित गरेको छ । यस कानुनी व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने हो भने दृष्टिविहीन व्यक्तिलाई आवश्यक सहायक सामग्री, अभिमुखीकरण तथा गमनशीलता सीप (Orientation and Mobility Skills) उपलब्ध गराउनु आवश्यक हुन्छ । संयुक्त राष्ट्रसंघीय अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि (CRPD) को धारा २० ले राज्यलाई अपाङ्गता भएका व्यक्तिको व्यक्तिगत गमनशीलता अधिकतम स्वतन्त्रताका साथ सुनिश्चित गर्न, गुणस्तरीय गमनशीलता सहायक सामग्री तथा सहायक प्रविधि सुलब मूल्यमा उपलब्ध गराउन र गमनशीलता सीपको प्रशिक्षण प्रदान गर्न स्पष्ट रूपमा आह्वान गर्दछ । नेपालले उक्त महासन्धिलाई ७ मे २०१० मा अनुमोदन समेत गरिसकेको छ ।
यसैगरी CRPD को धारा ९ ले सडक, यातायात, भवन, विद्यालय, कार्यस्थल तथा सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिको समान पहुँच सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । यसैले नेपालमा सेतो छडीको उपलब्धता, प्रयोगसम्बन्धी प्रशिक्षण र पहुँचयुक्त सडक तथा यातायात प्रणालीलाई अधिकारमुखी दृष्टिकोणबाट हेर्न आवश्यक छ । सेतो छडीको विषयलाई केवल अपाङ्गता क्षेत्रको एउटा सानो विषयका रूपमा सीमित गर्न मिल्दैन । यो संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (SDGs) सँग प्रत्यक्ष रूपमा जोडिएको विषय पनि हो । लक्ष्य ११.२ ले अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई ध्यानमा राख्दै सुरक्षित, पहुँचयुक्त र दिगो यातायात प्रणाली तथा सडक सुरक्षा सुनिश्चित गर्न जोड दिएको छ ।
त्यसैले सेतो छडी + पहुँचयुक्त सडक + जिम्मेवार चालक + प्रशिक्षित दृष्टिविहीन व्यक्ति = सुरक्षित र समावेशी शहर निर्माणको महत्वपूर्ण आधार बन्न सक्छ । दृष्टिविहीन बालबालिकालाई विद्यालय तहदेखि नै सेतो छडी प्रयोग, अभिमुखीकरण तथा गमनशीलता सीप सिकाइएन भने उनीहरूको विद्यालय आवतजावत, स्वतन्त्रता र शिक्षामा सहभागिता प्रभावित हुन सक्छ । त्यसैले सेतो छडीको प्रयोग सिकाउनु समावेशी शिक्षाको एउटा व्यावहारिक पक्ष पनि हो ।
दृष्टिविहीन बालबालिकाले विद्यालय प्रवेश गरेसँगै पुस्तक, ब्रेल र शैक्षिक सामग्री मात्र सिकेर पुग्दैन । उनीहरूलाई स्वतन्त्र रूपमा हिँड्ने, बाटो पहिचान गर्ने, सडक पार गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने र नयाँ वातावरणमा सुरक्षित रूपमा यात्रा गर्ने सीप पनि आवश्यक हुन्छ । अनुसन्धानले पनि दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिका लागि Orientation and Mobility Training (O&M) र Daily Living Skills (DLS) लाई दैनिक जीवनमा स्वतन्त्रता कायम गर्न महत्वपूर्ण पुनर्स्थापना सीपका रूपमा देखाएको छ । यस्तो प्रशिक्षणमा सडक पार गर्ने, भर्याङमा सेतो छडी कसरि प्रयोग गर्ने, अपरिचित ठाउँमा हिँड्ने तथा सेतो छडी प्रयोग गर्ने सीप समावेश हुन्छन । त्यसैले अभिभावक, स्रोत शिक्षक, पुनर्स्थापना विज्ञ तथा स्थानीय तहले दृष्टिविहीन बालबालिकालाई “सेतो छडी प्रयोग गर्न सिकाउने” विषयलाई अतिरिक्त सुविधा नभई आधारभूत जीवनोपयोगी सीपका रूपमा लिन आवश्यक छ ।
अझै पनि कतिपय दृष्टिविहीन व्यक्तिले सेतो छडी प्रयोग गर्न हिच्किचाउने वा सार्वजनिक रूपमा प्रयोग गर्न लाज मान्ने गरेको पाइएको छ । यसको एउटा कारण समाजमा रहेको अपाङ्गतासम्बन्धी नकारात्मक धारणा र हेराई पनि हो तर सेतो छडी कमजोरीको प्रतीक होइन । यो त स्वतन्त्रताको प्रतीक हो । सेतो छडी लिएर एक्लै हिँड्नुको अर्थ “म अक्षम छु” भन्ने होइन बरु “म आफ्नो जीवन आफैं अगाडि बढाउन सक्छु, मलाई मेरो अधिकार र स्वतन्त्रताको सम्मान चाहिन्छ” भन्ने सन्देश दिनु हो । दृष्टिविहीन व्यक्तिले सेतो छडीलाई आफ्नो पहिचान र गौरवका रूपमा स्वीकार गर्न सक्दा आत्मविश्वास बढ्न सक्छ ।
समाजले पनि सेतो छडीलाई दया वा अक्षमताको चिन्हका रूपमा नभई स्वतन्त्र गतिशीलताको अधिकारको प्रतीकका रूपमा बुझ्नुपर्छ । नेपालमा दृष्टिविहीन व्यक्तिका लागि आवश्यक गुणस्तरीय सेतो छडीको सहज र नियमित उपलब्धता अझै चुनौतीको विषय बनेको छ । आयातमा निर्भरता, मूल्य, गुणस्तर, स्पेयर पार्ट्स तथा मर्मत सेवाको अभावले प्रयोगकर्तालाई समस्या पारेको पाइन्छ । त्यसैले नेपालमा स्थानीय उत्पादन, गुणस्तर निर्धारण, मर्मत तथा स्पेयर पार्ट्सको व्यवस्था विकास गर्नु आवश्यक छ ।
यसका लागि सरकारले निजी क्षेत्र, अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गर्ने संस्था, पुनर्स्थापना केन्द्र, प्राविधिक संस्था र सामाजिक संस्थासँग सहकार्य गर्न आवश्यक देखिन्छ । स्थानीय रूपमा उत्पादन गर्न सकिएमा लागत घटाउनुका साथै रोजगारी र उद्यमशीलताको अवसर पनि सिर्जना गर्न सकिन्छ । अब सेतो छडी दिवस केवल एउटा दिवस मनाउने अवसरमा सीमित नभई यसलाई नीति, कार्यक्रम र व्यवहार परिवर्तनको अभियानसँग जोड्न आवश्यक देखिन्छ । सरकार तथा सम्बन्धित निकायले विशेष गरी निम्न कुराहरुमा ध्यान दिन जरुरी छ:
• स्थानीय निकायले दृष्टिविहीन व्यक्तिलाई गुणस्तरीय सेतो छडी निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ ।
• विद्यालय तहदेखि नै Orientation and Mobility Training सञ्चालन गरी स्पर्शशील शैक्षिक सामाग्री उपलब्ध गराउनु पर्छ ।
• स्रोत शिक्षक तथा पुनर्स्थापना जनशक्तिलाई सेतो छडी तथा Daily Living Skills (DLS) सीपसम्बन्धी तालिम दिनुपर्छ ।
• राष्ट्रिय आविस्कार केन्द्रमै गुणस्तरीय सेतो छडी उत्पादन तथा मर्मतको कार्यको सुरुवात गर्नुपर्छ ।
• ट्राफिक प्रहरी, चालक र सार्वजनिक यातायातका कर्मचारीलाई दृष्टिविहीन पैदलयात्रीको अधिकार र सुरक्षाबारे नियमित अभिमुखीकरण गर्नुपर्छ ।
• सडक, फुटपाथ, जेब्रा क्रसिङ, ट्राफिक संकेत तथा सार्वजनिक यातायातलाई दृष्टिविहीन व्यक्तिका लागि दृष्टिविहीन मैत्री बनाउनुपर्छ ।
• स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने संस्था तथा समावेशी विद्यालयहरुसँग सहकार्य गरी Mobility & Orientation Training Program सञ्चालन गर्नुपर्छ ।
• सेतो छडीको प्रयोगप्रति समाजमा सकारात्मक धारणा विकास गर्न जनचेतनामूलक अभियानहरु सञ्चालन गर्नुपर्छ ।
• दृष्टिविहीन बालबालिकालाई विद्यालयमा भर्ना गराउने मात्र होइन, विद्यालयसम्म सुरक्षित रूपमा पुग्ने र फर्कने वातावरणको सुनिश्चित गर्नुपर्छ ।
• नेपाल सरकारले सेतो छडी तथा अन्य सहायक सामग्रीलाई सामाजिक सुरक्षा र पुनर्स्थापना कार्यक्रमको अभिन्न अंग बनाउनुपर्छ ।
नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी निर्मित कानुन, CRPD र SDGs सबैले एउटै मूल सन्देश दिन्छन् – अपाङ्गता भएका व्यक्तिलाई दया होइन, अधिकार, अवसर, पहुँच र सम्मान चाहिन्छ । सेतो छडी एउटा सानो उपकरण जस्तो देखिए पनि दृष्टिविहीन व्यक्तिको जीवनमा यसको अर्थ निकै ठूलो छ । यसले बाटो पहिचान गर्न सहयोग गर्छ, अवरोधबाट जोगाउँछ, स्वतन्त्र रूपमा यात्रा गर्न आत्मविश्वास दिन्छ र समाजलाई “यहाँ एक दृष्टिविहीन व्यक्ति हिँडिरहेको छ” भन्ने महत्वपूर्ण संकेत दिन्छ ।
नेपालले “कसैलाई पछाडि नछोडौं (Leave No One Behind)” भन्ने SDG को मूल भावनालाई व्यवहारमा उतार्ने हो भने दृष्टिविहीन व्यक्तिको स्वतन्त्र गतिशीलतालाई प्राथमिकता दिनैपर्छ । त्यसैले अबको सेतो छडी दिवसमा हामी केवल सेतो छडी वितरण गर्ने वा दिवस मनाउने भन्दा अगाडि बढौं । हरेक दृष्टिविहीन व्यक्तिको हातमा गुणस्तरीय सेतो छडी, हरेक विद्यालयमा गमनशीलता सीपको प्रशिक्षण, हरेक सडकमा सुरक्षित आवागमन र हरेक नागरिकमा सम्मानपूर्ण व्यवहार सुनिश्चित गर्ने प्रतिबद्धता गरौं । सेतो छडीको सम्मान गरौं, दृष्टिविहीन व्यक्तिको स्वतन्त्रताको सम्मान गरौं । अन्तर्राष्ट्रिय सेतो छडी दिवसको भव्य शुभकामना ! हामी सबै सक्षम छौँ !!!
लेखक भरत बि.सी. – पारा खेलाडी / अपाङ्गता अधिकारकर्मी परियोजना व्यवस्थापक, सक्षमता विकास समाज नेपालसंग संग्लन हुनुहुन्छ ।








