काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी आज एमाले स्थायी कमिटी बैठकमा सहभागी हुँदै हुनुहुन्छ। वरिष्ठ नेताका रूपमा मनोनीत भएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लाग्नुभएको हो।
एमालेको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्दैछ। गत असोज ८ गते बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो। भण्डारी पार्टीमा दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता मनोनीत हुनुभएको हो।
राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष रहनुभएकी भण्डारी राष्ट्रपति पदमा रहँदा सक्रिय दलीय राजनीतिबाट अलग रहनुभएको थियो। करिब ११ वर्षपछि उहाँ पार्टीको उच्च तहको बैठकमा वरिष्ठ नेताका रूपमा सहभागी हुन लाग्नुभएको हो।
आजको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा, सांगठनिक गतिविधि तथा आगामी स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ।








