मोरङ । मोरङको लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीमा भरुवा बन्दुक बनाई बिक्री–वितरण गर्ने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७ का ४५ वर्षीय पूर्ण लावती लिम्बू रहेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ९ः५५ बजे लिम्बूको घरमा कानुनबमोजिम खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको तयारी अवस्थाको एक थान भरुवा बन्दुक, एक थान दबासवाला बन्दुक, हातहतियार निर्माण गर्ने आरन तथा भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद सामग्रीसहित लिम्बूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।








