२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ
अ अ+ अ-
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई सरकारले राष्ट्रिय प्राथमिकतामा राखेकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ।

विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले नियामकीय निर्णय तथा नीति निर्माण गर्दा बजारको आवश्यकता र सरोकारवालाको चासोलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो।

बिहीबार आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले मन्त्री श्रेष्ठसमक्ष वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो। सो क्रममा मन्त्री श्रेष्ठले पछिल्ला विपद्का घटनाले नेपालको ऊर्जा प्रणालीको विविधीकरणबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था सिर्जना गरेको बताउँदै ऊर्जा मिश्रणलाई विविधीकरण गरी ऊर्जा सुरक्षा बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले ऊर्जा क्षेत्रमा ठूलो लगानी आवश्यक रहेकाले स्पष्ट, अनुमानयोग्य र विश्वासिलो नियामकीय वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। आयोगले नियामकीय व्यवस्था तयार गर्दा लगानीकर्तासहित सबै सरोकारवालासँग पर्याप्त समन्वय गर्नुपर्ने उहाँको भनाइ थियो।

आयोगको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा विद्युत् क्षेत्रको बदलिँदो आवश्यकता, बजार विकास, लगानी वातावरण तथा उपभोक्ता हितलाई ध्यानमा राख्दै विभिन्न नियामकीय उपकरण निर्माण तथा कार्यान्वयन गरिएको छ।

आयोगले यस अवधिमा विवाद समाधानसम्बन्धी विनियमावली, २०८२, विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२, जलाशययुक्त विद्युत् केन्द्रको विद्युत् खरिद–बिक्री दरसम्बन्धी निर्देशिका, २०८२ तथा उपभोक्ता विद्युत् महसुल दर निर्धारणसम्बन्धी निर्देशिका, २०८३ जारी गरेको जनाएको छ।

खुला पहुँचसम्बन्धी व्यवस्थाले विद्युत् प्रसारण तथा वितरण प्रणाली प्रयोग गर्ने योग्यता, आवेदन तथा स्वीकृति प्रक्रिया, प्राथमिकता र दस्तुरसम्बन्धी विषय स्पष्ट गरेको आयोगले जनाएको छ। यसबाट विद्युत् उत्पादक, विद्युत् व्यापारी तथा ठूला उपभोक्तालाई विद्यमान प्रणालीमार्फत विद्युत् कारोबार गर्न थप व्यवस्थित आधार तयार भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, जलाशययुक्त आयोजनाबाट उत्पादित विद्युत्को खरिद–बिक्रीलाई व्यवस्थित गर्न छुट्टै नियामकीय व्यवस्था गरिएको छ। आयोगले उपभोक्ता विद्युत् महसुल निर्धारणसम्बन्धी निर्देशिका, २०७६, विद्युत् अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने सर्तसम्बन्धी विनियमावली, २०७६ तथा विद्युत् कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृतिसम्बन्धी निर्देशिका, २०७८ को पुनरावलोकन तथा परिमार्जनसमेत अघि बढाएको छ।

नियामकीय निर्णयलाई अध्ययन तथा तथ्यमा आधारित बनाउन विद्युत्को लागत तथा महसुल संरचना, उपभोक्ता महसुल, जलविद्युत् सञ्चालन लागत र उत्पादन लागतसम्बन्धी अध्ययन अघि बढाइएको आयोगले जनाएको छ। लामो समयदेखि विवादित डेडिकेटेड फिडर तथा ट्रंक लाइनसम्बन्धी विद्युत् महसुलका दुई विवादमा समेत आयोगले निर्णय गरेको प्रतिवेदनमा उल्लेख छ।

आयोगले आर्थिक वर्ष २०८३/८४ मा संस्थागत सुदृढीकरण, नियामकीय व्यवस्थाको विस्तार तथा सबलीकरण र विद्युत् क्षेत्रको पुनःसंरचनाका लागि नियामकीय सहजीकरणलाई प्रमुख रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउने जनाएको छ।

विद्युत् उत्पादन, प्रसारण, व्यापार तथा वितरण क्षेत्रको संरचनागत विकास र पुनःसंरचनालाई स्पष्ट नियामकीय सिद्धान्त, मापदण्ड तथा संस्थागत संयन्त्रमार्फत व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सहजीकरण गरिने आयोगले जनाएको छ।

आन्तरिक विद्युत् खपत वृद्धि, ऊर्जा सुरक्षा, विद्युत् बजारको विकास, लगानीको सुरक्षा तथा उपभोक्ताको हकहित संरक्षणलाई केन्द्रमा राखेर नियामकीय काम अघि बढाइने आयोगको भनाइ छ। बाढीबाट विद्युत् पूर्वाधारमा भएको क्षतिलाई समेत आगामी नियामकीय कार्यमा समेटिने जनाउँदै आयोगले विपद्प्रतिरोधी तथा उत्थानशील विद्युत् प्रणाली निर्माणमा जोड दिने जनाएको छ।