२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव

मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव
अ अ+ अ-

काठमाडाैँ । यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ । कतै बाढीपहिरोको त कतै डुबानको क्रास छ । ललितपुरको गोदावारी नगरपालिकास्थित टीकाभैरवका स्थानीय यतिबेला आकाशतिर हेर्छन् । आकाश उज्यालिने छाँडकाँट नहुँदा मन अँध्यारिन्छ । जब आकाशबाट ठूलो पानी पर्न थाल्छ जब स्थानीयको मनमा दुई वर्षअघिको नल्लु बाढीको दृश्य दोहोरिन थाल्छ ।

वर्षौंदेखि आस्थाको केन्द्र बनेको टीकाभैरव मन्दिर बाढीको भेलमा बग्दै गएको, बस्तीमा बाढी पसेको त्यो दृश्य अझै नाचिरहेको छ, स्थानीय कृष्ण श्रेष्ठका आँखामा । “हेर्दाहेर्दै मन्दिरको छानासम्म पानी पुग्यो । आँखै अगाडि मन्दिर बगायो”, उहाँ भन्नुहुन्छ, “मान्छेका घरहरू पनि डुबाउन थाल्यो । मुलधारे वर्षामा भिज्दै कोही बच्चा काखमा च्यापेर भाग्न थाले । कोही कुखुरा त कोही बाख्रा डोहोराएर भागिरहेका थिए ।”

नल्लु खोलामा बाढी आएको यो पहिलोपटक भने होइन । श्रेष्ठका अनुसार आफूले थाहा पाएदेखि नै यस क्षेत्रमा बेलाबेला बाढी आउने गरेको छ । उमेरले सात दशक पार गरिसक्यो । उहाँको अनुभवमा २०८१ सालको बाढीको स्वरूप भने फरक थियो । उहाँले कहिल्यै त्यति ठूलो बाढी आउला भन्ने कल्पनासमेत गर्नुभएको थिएन । २०८१ असोज १२ गते आएको बाढीले सो क्षेत्रलाई नराम्ररी प्रभावित बनायो ।

बाढीले मन्दिर मात्रै बगाएन, आसपासका बस्ती, खेत र संरचनामा पनि क्षति पु¥यायो । हराबरा सुन्दर देखिने दृश्य बगरमा परिणत गरायो । त्यस दिनको दृश्य सम्झँदा स्थानीयको मन अहिले पनि भारी हुन्छ । ठूलो वर्षाको खबर सुन्नासाथ उनीहरूमा फेरि त्यस्तै विपद् दोहोरिने हो कि भन्ने डर हट्न सकेको छैन ।

अर्का ७५ वर्षीय स्थानीय कृष्ण खड्काले पनि नल्लुमा त्यति ठूलो बाढी आएर विनास गर्ला भन्ने कहिल्यै लागेको थिएन । यतिबेला सञ्चारमाध्यमबाट आइरहेको भारीदेखि अतिभारी वर्षा हुने पूर्वसूचनाको खबरले चिन्ता थपेको छ । “आकाशमा बादल मडारिँदा पनि मन डराउछ नि । आकाशबाट ठूलो वर्षा हुँदा रातमा चिन्ताले निन्द्रा नै लाग्दैन,” उहाँ भन्नुहुन्छ, “भारी वर्षा हुँदैछ भन्ने खबर सुन्दा मन अझै तर्सिरहेको छ । दुई वर्षअघिको जस्तै विपद्ले तहल्का मच्चाउने त होइन भन्ने लागिरहन्छ ।”

त्यतिबेला मन्दिर बगाएको त्यो दिन सम्झँदा खड्काका पनि मन भारी हुन छाडेको छैन । “हेर्दाहेर्दै मन्दिर पनि लडेको देखियो, त्यता फर्केर हेर्दा पनि अझै उराठ लाग्छ,” उहाँ भन्नुहुन्छ । पन्ध्र वर्षदेखि मासु पसल सञ्चालन गर्दै आउनुभएका रमेश खत्रीका लागि वर्षा अब सामान्य मौसम मात्र रहेन । पानी पर्न थालेपछि उहाँको मनमा अनिश्चितताको डर पस्छ । “पानी परिरहँदा मन पनि अत्तालिन्छ । कतै दुई वर्षअघिको जस्तै बाढीले पसल त डुबाउँदैन भन्ने चिन्ता लाग्छ,” उहाँ भन्नुहुन्छ, “पानी पर्न नरोकिएसम्म ढुक्कले निदाउन सकिएको छैन ।”

दुई वर्षअघिको बाढीले छाडेको त्रास खत्रीको मनबाट अझै हटेको छैन । त्यसैले आकाशमा बादल लाग्दा वा लगातार पानी पर्न थालेपछि उहाँको ध्यान पसल र खोलातिर पुग्छ । विगतमा बाढीले पु¥याएको क्षतिको सम्झनाले भविष्यमा फेरि त्यस्तै घटना दोहोरिन्छ कि भन्ने चिन्ता थपिन्छ । स्थानीय मीना श्रेष्ठको अनुभव पनि उस्तै छ । दुई वर्षअघि नल्लु खोलाको बाढी उहाँको घरसम्मै पस्यो । रातारात घर छाडेर सुरक्षित स्थानतर्फ दौडिनुपरेको त्यो क्षण अहिले पनि उहाँको स्मृतिमा ताजै छ । “दुई वर्षअघि बाढी घर पस्यो । रातारात घर छाडेर दौडनुप¥यो,” उहाँ भन्नुहुन्छ, “अहिले पनि वर्षा हुँदा कतै बाढीले लखेट्ने त होइन भन्ने लाग्छ ।”

वर्षा सुरु हुनेबित्तिकै श्रेष्ठको मनमा पुरानो त्रास फर्किन्छ पानीको मात्रा बढ्दै जाँदा बाढी आउने हो कि भन्ने आशङ्काले मनमा ठाउँ लिन्छ । बाहिर पानी परिरहेको हुन्छ, तर उहाँको ध्यान भने खोलाको बहाव र आफ्नो घरको सुरक्षामै केन्द्रित हुन्छ । अर्का स्थानीय सागर श्रेष्ठको सम्झनामा पनि दुई वर्षअघिको बाढीको दृश्य नाचिरहन्छ । बाढीले उहाँको आँगनको ढिल नै बगाएको थियो । अहिले वर्षा सुरु भएपछि पनि श्रेष्ठको मनमा प्रश्न उठ्छ– कतै विगतकै जस्तो बाढी त आउने होइन ?

बाढीले बगाएको आँगनको ढिल पुनः बनिसकेको छ । तर बाढीले मनमा छाडेको त्रास भने सजिलै मेटिन सकेको छैन । टीकाभैरव मन्दिर नजिकै पूजा सामग्रीको पसल सञ्चालन गर्दै आउनुभएकी शारदा पोखरेलको दैनिकी पनि वर्षायाममा फेरिन्छ । उहाँको पसलभन्दा केही माथि घर छ । पानी पर्न थालेपछि घरभित्रै बसेर पनि उहाँको मन नल्लु खोलामै पुग्छ । “पानी पर्न थालेपछि डर लाग्छ । रातभरि निद्रा लाग्दैन,” उहाँ भन्नुहुन्छ । पानी परेको रात पोखरेललाई निकै लामो लाग्छ । नल्लुमा पानी कति बढ्यो होला ? कतै खोलामा बाढी आएको त छैन ? बिहानसम्म अवस्था कस्तो होला ? भन्ने प्रश्न मनमा खेलिरहन्छ ।

बिहान हुनेबित्तिकै उहाँ नल्लु खोला हेर्न पुग्नुहुन्छ । खोलामा बाढीको भेल नदेखिएपछि मात्रै मन केही ढुक्क हुन्छ । “रातमा पानी परेपछि भोलिपल्ट बिहान नल्लु उर्लिएको छ कि छैन भनेर हेर्नु मेरो दैनिकी नै बनेको छ,” पोखरेल भन्नुहुन्छ । शारदाले आफ्नो जीवनको अवधिमा त्यस क्षेत्रमा दुई पटक बाढी आएको देख्नुभयो । संयोगले दुई पटक नै असोज महिनामा बाढी आएको थियो । “२०५९ सालको असोज र २०८१ सालमा पनि असोज नै बाढी आयो । अहिले पनि असोज लागेपछि नै वर्षा भइरहेका छ । यो साल पनि असोजमा नै कतै बाढी त आउने होइन भन्ने क्रास त छ । जे होला । हामीले रोकेर रोक्न सकिदैन । सतर्क रहने हो,” उहाँ भन्नुहुन्छ ।

पातलिँदै धार्मिक पर्यटन

टीकाभैरव मन्दिर यस क्षेत्रको पहिचानलाई अझै उचो बनाएको थियो । धार्मिक आस्था बाकेर मन्दिर आगमन गर्ने धार्मिक पर्यटकहरु झुम्मिँदै थिए । पहिलाभन्दा भीड बाक्लिदै थियो । चैतको अष्टमी र पूर्णिमामा यहाँ ठूलो भीड लाग्ने गथ्र्यो । मन्दिर भत्किएयता सुनसान छ टीकाभैरव । काठमाडौँ, पाटन, भक्तपुर र बुङमतीलगायतका ठाउँबाट मानिसहरू पूजा गर्न आउने गरे पनि मन्दिर बगाएको खबरले आन्तरिक पर्यटकहरु ज्यादै पातलिएको बताउनहुन्छ स्थानीय दिलबहादुर श्रेष्ठ ।

स्थानीयका लागि मन्दिरसँग जोडिएका आफ्नै विश्वास छन् । टीकाभैरवलाई ‘भैरवका महाराज’का रूपमा मान्ने गरिएको बताउनुहुन्छ उहाँ । यसैगरी मछिन्द्रनाथको दायाँपट्टीको चक्कामा टीकाभैरव मन्दिर बस्ने विश्वास रहेको छ । परिसरमा रहेको रामेश्वर नामको ठूलो ढुंगा छ । उक्त ढुङ्गामा दल्दा कम्मर दुखाइ निको हुने जनविश्वाससमेत जोडिएको स्थानीय बताउँछन् । सो ढुङ्गा लङ्काबाट हनुमानले ल्याएको जनविश्वास छ । यस्ता धार्मिक तथा सांस्कृतिक विश्वासले टीकाभैरवलाई स्थानीय सीमाभन्दा बाहिर पनि चिनाएको थियो ।

अहिले भने टीकाभैरव मन्दिरको पुनर्निर्माणका कार्य अगाडि बढिरहेको छ । धार्मिक आस्था र पर्यटकीय सम्भावना बोकेको उक्ता मन्दिरलाई पुरानै स्वरुपमा उभ्याएर गुमेको पहिचानलाई पुर्नजन्म विश्वास छ स्थानीयको । फेरि पनि टीकाभैरवमा आउने भक्तजनको लामालस्कर लाइन हेर्न आतुर छन् स्थानीयहरू ।

फेरिएको भू–दृश्य

टीकाभैरव र लेले आसपास क्षेत्रमा जहाँ पहिले खेत थियो, त्यहाँ अहिले ढुङ्गा र बगर देखिन्छ । कुनै समय यही खेतमा धान रोपेर केही महिना परिवार पाल्ने गरेको स्थानीय सम्झन्छन् । “यस्तै तीन–चार महिना खान पुग्थ्यो,” स्थानीय कृष्ण खड्का सम्झनुहुन्छ । बाढीले खेत मात्रै बगाएन, नदीको धारसमेत परिवर्तन गरिदिएको उहाँको अनुभव छ ।

खोलाको किनार आसपासका केही घर र पसलमा पनि पानी तथा माटो पसेको थियो । पानी बढ्न थालेपछि कतिपय परिवारले घर छाडेर सुरक्षित स्थानमा गएर रात बिताएका थिए । पहिले खोलाको छेउमा रहेको विद्यालय अहिले केही माथि सारिएको स्थानीय बताउँछन् । संरचना सारिए पनि दुई वर्षअघिको भन्दा ठूलो वर्षा पो हुने हो कि भन्ने भय मनमा बाँकी नै छ स्थानीयहरूको । ठूलो पानी परेपछि बाढी मात्रै होइन, पहिरोको सम्भावनाले पनि उनीहरूलाई सताउने गरेको छ । पानी परेपछि मन लाग्ने डर, खोलातिर हेर्दा देखिने बगर र आँखै अगाडि बगेको मन्दिरको दृश्य उनीहरूका लागि नमिठो र अकल्पिनीय सम्झाना बनिरहेको छ ।

आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने

नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेबिट ढकालले शनिबारसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्नेमा सुझाव दिनुभयो । “शुक्रबार वर्षाको गतिविधि अझ बढी हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको छ,” उहाँले भन्नुभयो ।

मौसमविद् ढकालले शनिबार भने वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ केन्द्रित हुने देखिएको र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको र गण्डकीदेखि पश्चिमका विभिन्न भूभागमा समेत वर्षाको गतिविधि बढ्ने सम्भावना छ ।

आइतबार भने बागमती र गण्डकीदेखि पूर्वी भूभागमा वर्षाको गतिविधि तुलनात्मक रूपमा कम हुने तथा पश्चिमी भूभागमा मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर दैनिक गतिविधि सञ्चालन गर्न सकिने अवस्था देखिएको उहाँले बताउनुभयो । ढकालले विशेषगरी भारी वर्षा हुने सम्भावना भएका क्षेत्रका बासिन्दालाई बाढी तथा पहिरोको जोखिमप्रति सचेत रहन र विभागले जारी गर्ने मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न आग्रह गर्नुभयो । रासस