काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले बडादसैँ २०८३ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण गर्नुभएको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रधान सेनापति सिग्देलले बिहीबार असोज २९ गते समारोहको अन्तिम निरीक्षण गर्नुभएको हो । नेपाली सेनाले असोज ३१ गते सैनिक मञ्च टुँडिखेलमा शान्ति र समृद्धिको कामनासहित फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ।
अन्तिम निरीक्षणका क्रममा प्रधान सेनापतिले आर्थिक वर्ष २०८२र०८३ मा सञ्चालित पेशागत प्रतियोगितामा सर्वोत्कृष्ट हुने फर्मेसन तथा युनिटहरूलाई पुरस्कार र कदरपत्र प्रदान गर्नुभएको छ ।
त्यसैगरी, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई प्रधान सेनापति प्रशंसा निशान, मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानी दर्जामा पदोन्नति भएका सुबेदार तथा प्राविधिक सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने सकल दर्जालाई प्रकृति संरक्षण पदकसमेत प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।
उक्त अन्तिम निरीक्षण कार्यक्रममा रथीवृन्द, सकल दर्जा, परिवारजन तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।















