काठमाडौँ । नेकपा एमालेले मङ्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
भट्टका अनुसार भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्षसँगै सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
बैठकले मङ्सिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा तथा पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको भट्टले बताउनुभयो।
त्यस्तै, पार्टीका १३ वटा जिल्लामा जिल्ला अध्यक्षलगायत स्थानीय कमिटी खाली रहेकाले सम्बन्धित स्थानीय कमिटीले नै कमिटी निर्माण गरी माथिल्लो कमिटीबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजाने निर्णय गरेको एमालेले जनाएको छ।








