
काठमाडौं । मिस वर्ल्ड २०१८ प्रतियोगिता मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पर्हियाउँँदै चीनमा शनिबार सकिएको छ । तर नेपालीहरुले तिब्र प्रतिक्षा गरिरहेको क्षण भने निराशामा परिणत हुन पुग्यो । नेपालकी सुन्दरी श्रृंखला खतिवडाले प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड त जितन् तर पनि उनको शुरुदेखिको प्रस्तुतिले नेपालीहरुले यसरी टप १२ मा नै चित्त बुझाउनुपर्ला जस्तो भने लागेको थिएन । तर उनी टप १२ सम्म पुगिन्, र त्यसैमा चित्त बुझाउनुपर्यो । तर पनि विश्वका सुन्दरीहरु जम्मा भएको सो प्रतियोगितामा यसरी १२ जना भित्रै नेपाल पर्नुलाई भने नराम्रो मान्न सकिन्न । नेपाल यति राम्रो पोजिसनमा परेको पनि यो नै पहिलो पटक हो ।
तर पनि यसलाई चित्तबुझ्दो मूल्यांकनका रुपमा लिन नसकिने नेपाल सुन्दरी शृंखला र नेपालका पूर्व सुन्दरीहरुले बताएका छन् । यसपालीको मिस वल्र्डले नेपाली बजारमा यस्तै चर्चा र बहस भने जन्माइरहेको छ । पहिलोपटक नेपाललाई उपाधिको दावेदारका रुपमा नेपालले मात्र नभएर विश्वले नै लिएका थिए । विश्वका सौन्दर्यसम्बन्धका विज्ञहरुले पनि नेपालकी श्रृंखलाको फ्यान भएर अभूतपूर्व रहेको भनी प्रतिक्रिया दिएका थिए । उनलाई मिस वर्ल्डका रुपमा हेर्न नेपालीहरु आतुर थिए । उनका फ्यानहरुले टप १२ मा चित्त बुझाउन सकिरहेका छैनन् । तर, मिस वर्ल्ड एउटा यस्तो प्रतिस्पर्धा हो, जसको कहिल्यै पूर्वानुमान गर्न सकिन्न । पूर्व मिस नेपाल माल्भिका सुब्बाले सो प्रतियोगिताको मूल्यांकन सही र स्वच्छ रुपमा नभएको बताउँछिन् ।
‘श्रृंखला मिस वल्र्डको ताज पहिरिन एकदमै योग्य थिइन तर निर्णायकहरुले धाँधली गरेको उनको भनाई छ । उनको जस्तो विचार राख्ने सो प्रतियोगिता हेर्ने अरु पनि धेरैको छ । विश्वका कतिपय सौन्दर्य विज्ञहरुले मिस वर्ल्डको उपाधिपछिको महत्वपूर्ण मानिने ‘ब्यूटी विथ पर्पस अवार्ड’ जित्न श्रृंखला सफल भएको भए पनि त्यसैमा मात्र चित्त बुझाउनुपर्ने अवस्था नभएको उनीहरुको भनाई छ । उनले धेरै भोट पाएकी थिइन् र भोटिङमा आधारित मल्टिमिडिया अवार्ड पनि जितिन् । यस हिसाबले यसपटक मिस वर्ल्डमा नेपालले अहिलेसम्मको ठूलो सफलता पाएको मान्न त सकिन्छ तर पनि त्यो पर्याप्त भने होइन ।
मिस वर्ल्डको फम्र्याट अनुसार यसपटक सुन्दरीहरुलाई उनीहरुले प्रतिनिधित्व गर्ने महादेशका आधारमा पनि विभाजन गरिएको थियो । यसरी विभाजन गर्दा पनि हाम्रो देश पछि परेको हुनसक्छ । टप ३० बाट टप १२ मा पुग्ने क्रममा श्रृंखलाले एसियाका १२ सुन्दरीहरुसँग ३ वटा स्थानका लागि भिड्नुपरेको थियो । तर यसमा उनी सफल भइन् । आफ्नो महादेशका बलिया भारत र चीनलाई समेत पछि पार्दै उनले टप १२ मा स्थान बनाइन् । उनले यसरी भारत र चीनलाई पछि पारेपछि भने विश्व सुन्दरीको ताज पहिरिने सम्भावना धेरै नै बढेको अनुमान सर्वत्र काटिएको थियो ।
यसरी टप १२ मा परेका सबैजना प्रतिस्पर्धीहरुलाई निर्णायकहरुले प्रश्न सोध्ने अनुमान गरिएको थियो । तर, किन त्यस्तो भएन भन्ने नै अहिले सर्वत्र खोजीको विषय भएको छ । उद्घोषकले उनीहरुसँग छोटो कुरा गरिन् । र, एकाएक टप ५ घोषणा भयो । एसियाबाट एकजना मात्र छानिने भए । श्रृंखलालाई पछि पार्दै थाइल्यान्डकी सुन्दरी टप ५ मा परिन् । टेलिभिजन र इन्टरनेटमा मिस वर्ल्ड लाइभ हेर्न झुम्मिएका नेपालीले श्रृंखला के आधारमा आउट भइन् भन्ने बुझ्न सकेनन् । यसै घटनालाई अन्याय भएको हो भन्न सकिन्छ । कम्तीमा पनि टप १२ मा परेकाहरुलाई प्रश्न सोधेर अथवा मापनको कुनै आधार निर्माण गरेर न्याय दिन सकिन्थ्यो । तर त्यसो गरिएन । उद्घोषकले नै एकाध प्रश्न गरेपछि एक्कासी टप ५ को घोषणा गरियो र त्यसमा एसियाबाट थाईल्याण्ड छानिएको थियो । यहीँ नेर श्रृंखलामाथि अन्याय भएको सबैले भनेका छन् । जस्तो कि चीन पछि परेपछि टप १२ मा आएकी श्रृंखलालाई नै चीनले पनि मत हालेको थियो । चीनको सद्भाव पनि नेपाललाई नै थियो । तर पछिसम्म त्यसो हुन पाएन ।
ट्रयाक रेकर्डका आधारमा टप ५ छनोट गरिएको थियो र त्यसमा टप ५ सम्मको छनोटको आधार पारदर्शी थिएन । यसरी हेर्दा त श्रृंखला टप ५ को पहिलो हकदार थिइन् नै । किनकि उनले ‘ब्यूटी विथ द प्रपोज’ जस्तो महत्वपूर्ण अवार्ड र ‘मल्टिमिडिया अवार्ड’ पनि जितेकी थिइन् । यस प्रतियोगितापूर्व नै दुई दुई ओटा अवार्ड जित्ने उनी मात्रै थिइन् । उनको फ्यान फलोइङ सबैभन्दा बढि थियो । सौन्दर्य र बौद्धिकतामा पनि अगाडि थिइन् । तर, के कारणलाई उनलाई फ्याँकियो त्यो कुरा अहिलेसम्म पनि बुझ्न सकिएको छैन ।









