काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना आज दिउँसो साढे १२ बजेदेखि सुरु हुने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै सहमहामन्त्री (पिछडिएको क्षेत्र) सहित विभिन्न पदको मतगणना सुरु गर्न लागिएको जनाएको हो ।
समितिका अनुसार पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) को मतगणना हुनेछ । यी पदको मतपत्र नम्बर ११ रहेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशतर्फ केन्द्रीय सदस्य (महिला), केन्द्रीय सदस्य (खुला), ३५ वर्षमुनिका युवा महिलातर्फ र ३५ वर्षमुनिका युवा खुलातर्फको मतगणना पनि आजै सुरु हुनेछ । यी पदको मतपत्र नम्बर १९ रहेको समितिले जनाएको छ ।
उक्त पदहरूको मतगणना ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा दिउँसो १२:३० बजे सुरु हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको सूचनामा उल्लेख छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना गत असोज २३ गते राति ९ बजेदेखि सुरु भएको थियो ।








