काठमाडौं । गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को सम्मेलनका भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।
भारतीय गृहमन्त्री अमित शाहको पहलमा बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक नयाँ दिल्लीमा असोज २७ मा आयोजना हुदै छ । बैठकमा नेपालका गृहमन्त्री गुरुङसहित भारतका शाह, बंगलादेशका सलाहुद्दिन अहमद, भुटानका लुङ्तेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्ट विन स्वे, श्रीलंकाका विजिथा हेराथ र थाइल्यान्डका अनुतिन चानविराकुल सहभागी हुनेछन्।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी शाहसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यतालीका रहेको छ । गृहमन्त्री गुरुङ असोज २८ गने स्वदेश फर्किने उहाँको सचिवालयले जनाएको छ । । गृहमन्त्री गुरुको यो पहिलो विदेश भ्रमण हो।
सम्मेलनको पूर्वसन्ध्यामा गृहमन्त्री गुरुङले नेपालका विभिन्न प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गर्नुभएको छ। कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूले व्यापार व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या, चुनौती तथा तिनको समाधानका लागि क्षेत्रीय सहकार्य रबिम्स्टेक मञ्चमार्फत अघि बढाउन सकिने पहलहरूबारे छलफल गर्नुभएको थियो ।
अन्तरक्रियाका क्रममा गृहमन्त्रीले उद्योगी तथा व्यवसायीहरूबाट प्राप्त सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले चोरी पैठारी नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन “डिजिटल बोर्डर को अवधारणालाई अघि बढाउने उल्लेख गर्दै सीमा क्षेत्रमा प्रविधिको प्रयोग, निगरानी तथा समन्वयलाई सुदृढ बनाउनु आवश्यक रहेको बताउनु भएको थियो ।







