काठमाडौँ । सरकारले नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका ८५ जना अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ।
अर्थ मन्त्रालयको २०८३ असोज २३ गतेको निर्णयअनुसार आन्तरिक राजस्व, भन्सार, राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग सम्बन्धित कार्यालयका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
सरुवाअन्तर्गत ठूला करदाता कार्यालय हरिहरभवनका प्रमुख कर अधिकृत सन्तबहादुर ढकाल, ध्रुवप्रसाद पाण्डे, अम्बिका प्रसाद खनाल र उद्धवराज न्यौपानेलाई अर्थ मन्त्रालयमा उपसचिवका रूपमा ल्याइएको छ।
त्यस्तै, आन्तरिक राजस्व कार्यालय महाराजगञ्जका मुक्तिराम आचार्य, नेपालगञ्जका पूर्णप्रसाद न्यौपाने, ललितपुर–२ की सीता आचार्य, वीरगञ्जका टिकाराज चौलागाईं र भैरहवाका प्रेमराज पोखरेलको समेत सरुवा गरिएको छ।
राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशकस्तरका अधिकारीहरूलाई पनि अर्थ मन्त्रालयमा ल्याइएको छ। ध्रुवराज शर्मा, नरेन्द्रप्रकाश पाण्डेय र ध्रुव पोखरेल अर्थ मन्त्रालयमा सरुवा भएका छन्। पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा समेत खटाइएको छ।
यसैगरी, विभिन्न आन्तरिक राजस्व कार्यालयमा नयाँ प्रमुख कर अधिकृत तोकिएका छन्। प्रेमप्रसाद उपाध्यायलाई नेपालगञ्ज, विनोद पाठकलाई न्युरोड, राजकुमार खतिवडालाई बालाजु, गजेन्द्रप्रसाद यादवलाई वीरगञ्ज र डोलिन्द्रप्रसाद शर्मालाई भैरहवास्थित आन्तरिक राजस्व कार्यालयको जिम्मेवारी दिइएको छ।
भन्सार प्रशासनमा पनि उल्लेख्य हेरफेर भएको छ। किशोर बर्तौलालाई कृष्णनगर, राधेश्याम दाहाललाई कैलाली र ज्ञानेन्द्रराज ढकाललाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृतको जिम्मेवारी दिइएको छ। शिशिर रिजाल, नवराज पराजुली र ठाकुर आचार्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ।
सरकारले आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँगै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र प्रदेश सरकारअन्तर्गतका आर्थिक मामिला मन्त्रालयहरूमा समेत अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको छ।








