महामन्त्रीमा निर्वाचित भएपछि धन्यवाद व्यक्त गर्दै राणाले आफूलाई अमूल्य मत दिएर विश्वास र जिम्मेवारी सुम्पिने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका हुन् ।
उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा संकल्पका रूपमा व्याख्या गरेका छन् ।
लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सबैप्रति सम्मान व्यक्त गर्दै राणाले उनीहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन् ।
‘नेपाली कांग्रेसको सुन्दरता नै यही हो, प्रतिस्पर्धामा अनेक विचार, तर पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता,’ उनले भनेका छन् ।
राणाले सबै मिलेर नेपाली कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
महामन्त्री राणाले पार्टीभित्रको लोकतान्त्रिक प्रतिस्पर्धाबाट प्राप्त जिम्मेवारीलाई संगठन निर्माण, पार्टी रूपान्तरण र राष्ट्रिय समृद्धिको लक्ष्यसँग जोड्दै सबैलाई साझा उद्देश्यका साथ अघि बढ्न आह्वान गरेका छन् ।








