काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले कुनै पनि प्रकारको राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहका अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले प्रहरी सङ्गठनको छवि उच्च राख्न इमान्दारी, अनुशासन र नैतिकता महत्त्वपूर्ण हुने बताउनुभयो । करिब १६ महिनाको कठोर तालिम पूरा गरेका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै उहाँले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर पेशागत मर्यादाअनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री साहले संविधान, प्रचलित कानून र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकको जिउधनको रक्षा, शान्ति सुरक्षा कायम र अपराध अनुसन्धान नेपाल प्रहरीको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले यी जिम्मेवारी निर्वाहमा कुनै सम्झौता नगर्न प्रहरी अधिकृतहरूलाई सचेत गराउनुभयो ।
उहाँले बदलिँदो अपराधको प्रकृतिलाई ध्यानमा राख्दै अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग आवश्यक रहेको बताउनुभयो । प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री साहले भन्नुभयो, “यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु । अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमान्दारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु।”
उहाँले प्रहरी अधिकृतहरूलाई सङ्गठनको प्रोटोकलविपरीतका गतिविधि, व्यक्तिगत स्वार्थ र अनुचित प्रभावबाट टाढा रहँदै निर्भीकताका साथ जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।
दीक्षान्त समारोहमा प्रहरी नेतृत्व तथा प्रशिक्षार्थीका अभिभावकहरूको उपस्थिति थियो । तालिम पूरा गरेका प्रहरी निरीक्षकहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन् ।








