• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक ★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति ★   भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व ★   अहिंसा नै शान्ति र मैत्रीको आधारशिला ★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर

नेपालमा कुस्ती: चुनौतीबीच संस्कृतिको संरक्षण



मर्चवार । ‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्नुहुन्छ, “परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो एतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ ।”

सम्मरीमाई–४ रुपन्देहीका पहलवान रामचन्द्र यादवले दशकअघिका अखडा देखिन छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आजका युवामा खेलको सौख छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन ।” पहलवान घनश्याम मिश्रले कुस्तीको जीवन्त विगत सम्झिँदै सार्वजनिक चासोमा आएको ह्रासप्रति दु:ख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कुस्तीको सारअनुसार संस्कृतिको ह्रास रोकिनुपर्छ ।” मिश्रका अनुसार यसले स्वास्थ्य, शक्ति र स्फुर्तिलाई बढावा दिन्छ, आत्म नियन्त्रण र व्यक्तित्व विकासमा लाभ पु(याउँछ ।

कुस्ती एक अनुशासनको खेल हो । यो मानिस(मानिसबिचमा लडाइँको कला हो । कुस्ती प्रतियोगिता गोलाकार खाडलमा हुन्छन्, प्राय: माटोले भरिएको हुन्छ, जसलाई ‘अखाडा’ भनिन्छ । “अखाडाले खेलाडीका लागि प्राकृतिक सतह मात्र प्रदान गर्दैन यसले माटो र खेलको सम्बन्धलाई प्रतीकात्मक महत्व राख्छ”, पहलवान राम किसुन यादवले भन्नुभयो, “यसले आध्यात्मिक र दार्शनिक आयामसँग शारीरिक पराक्रमको मिश्रण गर्दछ ।”

कुस्ती खेलाडीलाई पहलवान र यसका प्रशिक्षकलाई ‘उस्ताद’ भनिन्छ । उस्तादले आफ्ना प्रशिक्षार्थी पहलवानलाई निर्देश गर्दछन् । यो प्रतियोगितामा समानस्तरका खेलाडीबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै, पहलवानलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ । अखाडामा देखिने यो अभ्यासले खेलकुदमा नयाँ रणनीति, निष्पक्षताको तत्व थप्नुका साथै अनुशासन र आचारसंहिताको पालनालाई समेट्छ ।

“कुस्तीले खेलाडीमा शारीरिक र मानसिक सहनशीलताको माग गर्दछ । असाधारण सहनशक्ति भएका व्यक्तिलाई आकार दिन्छ । शारीरिक बलको खेती गर्छ । यसको सहभागीको समग्र फिटनेसमा योगदान पुर्‍याउँछ”, मायादेवी गाउँपालिका रुपन्देहीका पहलवान नजाबुद्दीन मुसलमान भन्नुहुन्छ, “आफ्नै समृद्ध इतिहास र विविध रूपहरू भएको कुस्ती, खेलको कला, शारीरिक र मानसिक विकास खोज्ने व्यक्तिका लागि प्रेरणाको स्रोत हो ।”

दक्षिण एसियाली राष्ट्रमा कुस्तीको अभ्यास बढी छ । यो खेल प्राय: नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, पाकिस्तान, अफगानिस्तानलगायतका राष्ट्रहरूमा बढी खेलिन्छ । कुस्तीले ती क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ जहाँ युद्ध र वीरताको महत्व बढी हुन्छ । प्राचीन सभ्यतादेखि खेलिँदै लोकप्रियता प्राप्त गरेको यसको महत्वबारे पुराण, महाभारत र रामायणलगायतका धार्मिक तथा, साहित्यिक ग्रन्थमा पनि उल्लेख छ ।

अनादिकालमा मानव विकाससँगै कुस्ती खेलको विकास भएको अन्तर्राष्ट्रिय ख्याति प्राप्त पहलवान केशव दासको बुझाइ छ । यो खेल देशको प्रतिष्ठासँग जोडिएको र मानिसको स्वास्थ्यसँग गाँसिएको विषय भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “युद्ध र वीरताको प्रयाय नेपालमा परम्परागत र सांस्कृतिक रूपमा मूल्यवान कुस्ती यहाँको गौरवपूर्ण साझा संस्कृति, आपसी सद्भाव, रणनीतिक सङ्घर्ष र राष्ट्रिय एकताको प्रतीक हो ।”

नवलपरासी घर भएका केशव दासले शारीरिक स्वास्थ्य, आत्माको निपुणता, र सामाजिक तथा सांस्कृतिक मूल्यमा योगदानको लागि कुस्तीको वकालत गर्नुहुन्छ । यसको व्यवस्थापन र जनचेतनाको भूमिकामा जोड दिँदै निर्णायक भूमिका खेल्नका लागि सरकारलाई उहाँको आग्रह छ । उहाँले कालाजङ्ग, धोबी पछाड़, मच्छीगोता, सांडीतोड, निकाल, टांगी, बगलडुव र गदालेट दांवलाई कुस्तीको प्रमुख कला बताउनुहुन्छ ।

कुस्तीलाई दयानन्द सरस्वती, स्वामी विवेकानन्द, र अन्य योगीले शारीरिक स्वास्थ्य, आत्माको प्रभुत्व, र सामाजिक तथा सांस्कृतिक मूल्यको एक हिस्सा भनेर व्याख्या गर्नुभएको छ । कुस्तीको शाब्दिक विवरण पुरातात्विक तथा पौराणिक शास्त्र, खासगरी ग्रिक तथा संस्कृत महाकाव्यबाट सुरु हुन्छ । रामायणमा रावण–सुग्रीव, महाभारतमा भीमसेन–जरासन्ध तथा विभिन्न वलशाली पहलवानबीचको मुठभेडको वर्णन गरिएको छ ।

कोटहीमाई–३, रुपन्देही घर भई लुम्बिनी प्रदेश ‘मुख्यमन्त्री स्वयम्सेवक कार्यक्रम’का कुस्ती प्रशिक्षक राजेन्द्र यादवले परम्परागत खेलको पुन:रुत्थानका लागि साझा प्रयासको आवश्यकतामा जोड दिनुभयो । ‘सिद्धार्थ भीम पुरस्कार २०५७’का विजेता, यादवले नेपालमा कुस्तीको प्रतीक मानिने सांस्कृतिक र राष्ट्रिय एकताको संरक्षणको महत्वलाई जोड दिनुहुँदै हाल १२ जना खेलाडीलाई आफ्नै गाउँ पर्सियामा प्रशिक्षण दिइरहनुभएको छ ।

पहलवान तथा प्रशिक्षक यादव भन्नुहुन्छ, “मानवको शक्ति प्रदर्शन गर्ने कुस्तीको खेल एक युगमा सुरु भएको हो, जब मानिसलाई हतियारको प्रयोगबारे थाहा थिएन । त्यस समयमा, यस प्रकारको युद्धमा क्रुर बल हावी थियो ।” उहाँका अनुसार, पशुलगायतका अन्य शक्तिलाई जित्न त्यस समयमा मानिसले विभिन्न प्रकारका युक्तिहरू प्रयोग गर्न सिकेको हुनुपर्छ र त्यसैबाट ‘कुस्ती’ वा ‘मल्लयुद्ध’ खेलको विकास भएको हो ।

बहरल्ली, भितरल्ली, तुतवा, इरानी, मुल्तानी, भालुकस, बांगुडु, चपरास, अन्टी, सखी, रामवाण, एकहरीपट, दोहरीपट, सन् दुई हजार, खेमे, भरन्दाज, रुम, गुड, महाउती, साल्तो, बैगसाल्तो गुठ्ठी, दाउँपेचबारे बताउनुहुँदै प्रशिक्षक यादवले छिडकी, तेजाब छिडकी, अकलकाटे पहाण र जुडो पहाण दाँव नेपालमा प्रचलित रहेको जानकारी दिनुभयो । यादवले नेपालमा कम्तीमा एक जिल्ला एक सुविधा सम्पन्न प्रशिक्षण केन्द्र हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा कुस्तीका लागि सरकारले खासै पहल गरेको नदेखिए पनि युवामा कुस्तीप्रतिको रुचि बढाउन धेरै पटक कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । यसका लागि प्रशिक्षण केन्द्रहरू पनि छन्, जसले खेलाडीलाई विशेषज्ञता र प्रविधिमा तालिम दिने काम गरिन्छ ।” यादवका अनुसार विसं २०२८ पुुस १४ देखि २०५७ सम्म बर्षेनि सिद्धार्थनगर नगरपालिकाले ‘सिद्धार्थ भीम पुरस्कार’को आयोजना गर्ने गर्दथ्यो ।

तत्कालीन राजा वीरेन्द्रको जन्म दिवस पुस १४ गतेको अवसरमा आयोजना हुने राष्ट्रियस्तरको कुस्ती प्रतियोगितामा नेपाल र भारतलगायत देशका खेलाडीको सहभागिता हुने गर्दथ्यो । पुरस्कारका लागि पहलवानले लगातार तीन वर्ष दङ्गलमा प्रथम स्थान ल्याउनैपर्ने नियम थियो । पहलवान राजेन्द्र यादवले २०५५, २०५६ र २०५७ मा लगातार प्रथम स्थान ल्याइ ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ प्राप्त गर्नुभएको थियो ।

राजेन्द्रले पुरस्कार पाउनु पहिले उहाँका उस्ताद प्रहलाद यादव २०५२, ०५३ र ०५४ मा लगातार विजयी हुनुभएको थियो । २०४९, ०५० र ०५१ मा नवलपरासीका पहलवान रामकिसुन यादवले प्रतियोगिता जित्नुभएको थियो । विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्डपछि रुपन्देहीमा सरकारीस्तरबाट कुस्ती प्रतियोगिता नभएको सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले बताउनुभयो ।

हुन त तराई–मधेसका विभिन्न स्थानमा कुस्ती प्रतियोगिता अझै प्रचलनमा छन् । नहान मेलाको अवसरमा रुपन्देहीको सतियामाइ स्थान र जोगियाबारी मेलामा कुस्ती दङ्गलको आयोजना हुने गरेको देखिन्छ । प्रतियोगिता स्थानीयस्तरको भए पनि नेपाल र भारतका खेलाडीलाई सहभागी गराइन्छ । तर पारिश्रमिक, पुरस्कार र खानपानको व्यवस्थापनमा कमजोर हुँदा युवामा यो खेलप्रतिको रुचि घटेको देखिन्छ ।

“शारीरिक स्फुर्तिका कारण पहिला कुस्ती र पहलवानको सामाजिक प्रतिष्ठा धेरै थियो, जसले निजी सुरक्षाकर्मी आवश्यक पर्दा पहलवानलाई उपयुक्त मानिन्थ्यो”, लुम्बिनी प्रदेशका पूर्वशिक्षा तथा खेलकुद विकासमन्त्री वसीउद्दीन खाँले भन्नुभयो, “समयसँगै यो खेल र पहलवानको सङ्ख्या घट्यो । मेलाको बेला आयोजकले दिने पुरस्कारको सीमित रकम र दर्शकबाट प्राप्त हुने बक्सिसबाहेक आम्दानीको स्रोत छैन ।”

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताका अनुसार, पारम्परिक खेलहरू मनोरञ्जनका माध्यम मात्र नभई सामुदायिक संवादको मञ्च पनि थिए । यी खेलभित्र हाम्रो समाजको सांस्कृतिक समभाव पनि भएकाले कुस्ती ब्युँताउनु जरुरी छ । उहाँले भन्नुभयो, “कुस्तीप्रति युवाको आकर्षण बढाउन प्रदेश सरकारले काम गर्न लगेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिताका निम्ति खेलाडी उत्पादन हुनसक्छ भन्ने विश्वास छ ।” रासस