१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

नेपालमा कुस्ती: चुनौतीबीच संस्कृतिको संरक्षण

नेपालमा कुस्ती: चुनौतीबीच संस्कृतिको संरक्षण
अ अ+ अ-

मर्चवार । ‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्नुहुन्छ, “परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो एतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ ।”

सम्मरीमाई–४ रुपन्देहीका पहलवान रामचन्द्र यादवले दशकअघिका अखडा देखिन छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आजका युवामा खेलको सौख छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन ।” पहलवान घनश्याम मिश्रले कुस्तीको जीवन्त विगत सम्झिँदै सार्वजनिक चासोमा आएको ह्रासप्रति दु:ख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कुस्तीको सारअनुसार संस्कृतिको ह्रास रोकिनुपर्छ ।” मिश्रका अनुसार यसले स्वास्थ्य, शक्ति र स्फुर्तिलाई बढावा दिन्छ, आत्म नियन्त्रण र व्यक्तित्व विकासमा लाभ पु(याउँछ ।

कुस्ती एक अनुशासनको खेल हो । यो मानिस(मानिसबिचमा लडाइँको कला हो । कुस्ती प्रतियोगिता गोलाकार खाडलमा हुन्छन्, प्राय: माटोले भरिएको हुन्छ, जसलाई ‘अखाडा’ भनिन्छ । “अखाडाले खेलाडीका लागि प्राकृतिक सतह मात्र प्रदान गर्दैन यसले माटो र खेलको सम्बन्धलाई प्रतीकात्मक महत्व राख्छ”, पहलवान राम किसुन यादवले भन्नुभयो, “यसले आध्यात्मिक र दार्शनिक आयामसँग शारीरिक पराक्रमको मिश्रण गर्दछ ।”

कुस्ती खेलाडीलाई पहलवान र यसका प्रशिक्षकलाई ‘उस्ताद’ भनिन्छ । उस्तादले आफ्ना प्रशिक्षार्थी पहलवानलाई निर्देश गर्दछन् । यो प्रतियोगितामा समानस्तरका खेलाडीबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै, पहलवानलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ । अखाडामा देखिने यो अभ्यासले खेलकुदमा नयाँ रणनीति, निष्पक्षताको तत्व थप्नुका साथै अनुशासन र आचारसंहिताको पालनालाई समेट्छ ।

“कुस्तीले खेलाडीमा शारीरिक र मानसिक सहनशीलताको माग गर्दछ । असाधारण सहनशक्ति भएका व्यक्तिलाई आकार दिन्छ । शारीरिक बलको खेती गर्छ । यसको सहभागीको समग्र फिटनेसमा योगदान पुर्‍याउँछ”, मायादेवी गाउँपालिका रुपन्देहीका पहलवान नजाबुद्दीन मुसलमान भन्नुहुन्छ, “आफ्नै समृद्ध इतिहास र विविध रूपहरू भएको कुस्ती, खेलको कला, शारीरिक र मानसिक विकास खोज्ने व्यक्तिका लागि प्रेरणाको स्रोत हो ।”

दक्षिण एसियाली राष्ट्रमा कुस्तीको अभ्यास बढी छ । यो खेल प्राय: नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, पाकिस्तान, अफगानिस्तानलगायतका राष्ट्रहरूमा बढी खेलिन्छ । कुस्तीले ती क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ जहाँ युद्ध र वीरताको महत्व बढी हुन्छ । प्राचीन सभ्यतादेखि खेलिँदै लोकप्रियता प्राप्त गरेको यसको महत्वबारे पुराण, महाभारत र रामायणलगायतका धार्मिक तथा, साहित्यिक ग्रन्थमा पनि उल्लेख छ ।

अनादिकालमा मानव विकाससँगै कुस्ती खेलको विकास भएको अन्तर्राष्ट्रिय ख्याति प्राप्त पहलवान केशव दासको बुझाइ छ । यो खेल देशको प्रतिष्ठासँग जोडिएको र मानिसको स्वास्थ्यसँग गाँसिएको विषय भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “युद्ध र वीरताको प्रयाय नेपालमा परम्परागत र सांस्कृतिक रूपमा मूल्यवान कुस्ती यहाँको गौरवपूर्ण साझा संस्कृति, आपसी सद्भाव, रणनीतिक सङ्घर्ष र राष्ट्रिय एकताको प्रतीक हो ।”

नवलपरासी घर भएका केशव दासले शारीरिक स्वास्थ्य, आत्माको निपुणता, र सामाजिक तथा सांस्कृतिक मूल्यमा योगदानको लागि कुस्तीको वकालत गर्नुहुन्छ । यसको व्यवस्थापन र जनचेतनाको भूमिकामा जोड दिँदै निर्णायक भूमिका खेल्नका लागि सरकारलाई उहाँको आग्रह छ । उहाँले कालाजङ्ग, धोबी पछाड़, मच्छीगोता, सांडीतोड, निकाल, टांगी, बगलडुव र गदालेट दांवलाई कुस्तीको प्रमुख कला बताउनुहुन्छ ।

कुस्तीलाई दयानन्द सरस्वती, स्वामी विवेकानन्द, र अन्य योगीले शारीरिक स्वास्थ्य, आत्माको प्रभुत्व, र सामाजिक तथा सांस्कृतिक मूल्यको एक हिस्सा भनेर व्याख्या गर्नुभएको छ । कुस्तीको शाब्दिक विवरण पुरातात्विक तथा पौराणिक शास्त्र, खासगरी ग्रिक तथा संस्कृत महाकाव्यबाट सुरु हुन्छ । रामायणमा रावण–सुग्रीव, महाभारतमा भीमसेन–जरासन्ध तथा विभिन्न वलशाली पहलवानबीचको मुठभेडको वर्णन गरिएको छ ।

कोटहीमाई–३, रुपन्देही घर भई लुम्बिनी प्रदेश ‘मुख्यमन्त्री स्वयम्सेवक कार्यक्रम’का कुस्ती प्रशिक्षक राजेन्द्र यादवले परम्परागत खेलको पुन:रुत्थानका लागि साझा प्रयासको आवश्यकतामा जोड दिनुभयो । ‘सिद्धार्थ भीम पुरस्कार २०५७’का विजेता, यादवले नेपालमा कुस्तीको प्रतीक मानिने सांस्कृतिक र राष्ट्रिय एकताको संरक्षणको महत्वलाई जोड दिनुहुँदै हाल १२ जना खेलाडीलाई आफ्नै गाउँ पर्सियामा प्रशिक्षण दिइरहनुभएको छ ।

पहलवान तथा प्रशिक्षक यादव भन्नुहुन्छ, “मानवको शक्ति प्रदर्शन गर्ने कुस्तीको खेल एक युगमा सुरु भएको हो, जब मानिसलाई हतियारको प्रयोगबारे थाहा थिएन । त्यस समयमा, यस प्रकारको युद्धमा क्रुर बल हावी थियो ।” उहाँका अनुसार, पशुलगायतका अन्य शक्तिलाई जित्न त्यस समयमा मानिसले विभिन्न प्रकारका युक्तिहरू प्रयोग गर्न सिकेको हुनुपर्छ र त्यसैबाट ‘कुस्ती’ वा ‘मल्लयुद्ध’ खेलको विकास भएको हो ।

बहरल्ली, भितरल्ली, तुतवा, इरानी, मुल्तानी, भालुकस, बांगुडु, चपरास, अन्टी, सखी, रामवाण, एकहरीपट, दोहरीपट, सन् दुई हजार, खेमे, भरन्दाज, रुम, गुड, महाउती, साल्तो, बैगसाल्तो गुठ्ठी, दाउँपेचबारे बताउनुहुँदै प्रशिक्षक यादवले छिडकी, तेजाब छिडकी, अकलकाटे पहाण र जुडो पहाण दाँव नेपालमा प्रचलित रहेको जानकारी दिनुभयो । यादवले नेपालमा कम्तीमा एक जिल्ला एक सुविधा सम्पन्न प्रशिक्षण केन्द्र हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा कुस्तीका लागि सरकारले खासै पहल गरेको नदेखिए पनि युवामा कुस्तीप्रतिको रुचि बढाउन धेरै पटक कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । यसका लागि प्रशिक्षण केन्द्रहरू पनि छन्, जसले खेलाडीलाई विशेषज्ञता र प्रविधिमा तालिम दिने काम गरिन्छ ।” यादवका अनुसार विसं २०२८ पुुस १४ देखि २०५७ सम्म बर्षेनि सिद्धार्थनगर नगरपालिकाले ‘सिद्धार्थ भीम पुरस्कार’को आयोजना गर्ने गर्दथ्यो ।

तत्कालीन राजा वीरेन्द्रको जन्म दिवस पुस १४ गतेको अवसरमा आयोजना हुने राष्ट्रियस्तरको कुस्ती प्रतियोगितामा नेपाल र भारतलगायत देशका खेलाडीको सहभागिता हुने गर्दथ्यो । पुरस्कारका लागि पहलवानले लगातार तीन वर्ष दङ्गलमा प्रथम स्थान ल्याउनैपर्ने नियम थियो । पहलवान राजेन्द्र यादवले २०५५, २०५६ र २०५७ मा लगातार प्रथम स्थान ल्याइ ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ प्राप्त गर्नुभएको थियो ।

राजेन्द्रले पुरस्कार पाउनु पहिले उहाँका उस्ताद प्रहलाद यादव २०५२, ०५३ र ०५४ मा लगातार विजयी हुनुभएको थियो । २०४९, ०५० र ०५१ मा नवलपरासीका पहलवान रामकिसुन यादवले प्रतियोगिता जित्नुभएको थियो । विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्डपछि रुपन्देहीमा सरकारीस्तरबाट कुस्ती प्रतियोगिता नभएको सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले बताउनुभयो ।

हुन त तराई–मधेसका विभिन्न स्थानमा कुस्ती प्रतियोगिता अझै प्रचलनमा छन् । नहान मेलाको अवसरमा रुपन्देहीको सतियामाइ स्थान र जोगियाबारी मेलामा कुस्ती दङ्गलको आयोजना हुने गरेको देखिन्छ । प्रतियोगिता स्थानीयस्तरको भए पनि नेपाल र भारतका खेलाडीलाई सहभागी गराइन्छ । तर पारिश्रमिक, पुरस्कार र खानपानको व्यवस्थापनमा कमजोर हुँदा युवामा यो खेलप्रतिको रुचि घटेको देखिन्छ ।

“शारीरिक स्फुर्तिका कारण पहिला कुस्ती र पहलवानको सामाजिक प्रतिष्ठा धेरै थियो, जसले निजी सुरक्षाकर्मी आवश्यक पर्दा पहलवानलाई उपयुक्त मानिन्थ्यो”, लुम्बिनी प्रदेशका पूर्वशिक्षा तथा खेलकुद विकासमन्त्री वसीउद्दीन खाँले भन्नुभयो, “समयसँगै यो खेल र पहलवानको सङ्ख्या घट्यो । मेलाको बेला आयोजकले दिने पुरस्कारको सीमित रकम र दर्शकबाट प्राप्त हुने बक्सिसबाहेक आम्दानीको स्रोत छैन ।”

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताका अनुसार, पारम्परिक खेलहरू मनोरञ्जनका माध्यम मात्र नभई सामुदायिक संवादको मञ्च पनि थिए । यी खेलभित्र हाम्रो समाजको सांस्कृतिक समभाव पनि भएकाले कुस्ती ब्युँताउनु जरुरी छ । उहाँले भन्नुभयो, “कुस्तीप्रति युवाको आकर्षण बढाउन प्रदेश सरकारले काम गर्न लगेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिताका निम्ति खेलाडी उत्पादन हुनसक्छ भन्ने विश्वास छ ।” रासस