काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनले आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गर्न आग्रह गर्नुभएको छ ।
आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा मन्त्री अर्यालले भन्नुभयो, “हाम्रो सेवा प्रवाहमा पहिलेभन्दा अझै बढी रफ्तार र सेवा भावको भावना झल्किने गरी काम गर्न सके मात्रै जनताले चाहेको सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न सकिन्छ ।”
जेनजी पुस्ताले गरेको आन्दोलन सुशासनकै लागि गरिएको आन्दोलन भएको र राज्यको तर्फबाट भएको कमीकमजोरीले नै यो अवस्था सिर्जनाको भएको उहाँको भनाइ छ ।
अब पनि कुनै बहानामा जेनजीको आन्दोलन र सडक सङ्घर्षलाई नजरअन्दाज, अवमूल्यन गर्ने होभने पुनः त्यस्ता घटनाको पुनरावृत्ति नहोला भन्न नसकिने उहाँले बताउनुभयो । यसै आन्दोलनले गर्दा अब नवपुस्ताको राजनीतिमा मूल प्रवाहीकरण हुँदै जाने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।रासस










