म्यान्मा। पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृत्यु भएको र थप ३६ जना घाइते भएका उक्त क्षेत्रमा प्रभाव रहेको विद्रोही समूह अराकान आर्मीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
समूहले राखाइन राज्यको क्याउकट सहरको एक बजार र छेउको पुलमा सोमबार मध्यान्हतिर भएको आक्रमणमा कैयौँ घाइते भएका र कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकोले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएको छ ।
सुरक्षा कारण देखाउँदै नाम नखुलाउन अनुरोध गर्ने एक प्रत्यक्षदर्शीले सोमबार अपराह्न घटनास्थलमा ३० भन्दा बढी मृत शरीर आफूले देखेको बताए । बाक्लो धुँवा उडिरहेको घटनास्थलको भग्नावशेष र खाल्डा परेका सडकहरूबीच मानव अवशेषहरू देखिन्थे ।
यस बिषयमा प्रतिक्रियाका लागि सेनासँग सम्पर्क हुन सकेन ।
सन् २०२१ को सैन्य कूबाट सुरु भएको म्यान्माको गृहयुद्धमा पश्चिमी राज्य राखाइनमा सबैभन्दा भयानक अवस्थाहरू देखिएका छन् । (रासस/एएफपी)








