काठमाडौँ। गत शुक्रवारदेखिको अविरल वर्षासँगै आएको पहिरोले ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुईतले घर भत्काएको छ ।
सोमवार विहान सोवितकुमार थापाको घर पहिरोले बगाएर नजिकैको खोलामा पु¥याएको हो । घर पहिरोले बगाएपछि उक्त स्थानमा रहेको खोला समेत थुनिएको छ । थापाले घरको पछाडिपट्टी सुरक्षाका लागि जालीसहितको वाल निर्माण गरिरहेकै अवस्थामा खोलाले घर बगाएको बताउनु भयो ।
उहाँकाअनुसार २०८१ सालको वर्षायाममा छिमेकीको जग्गामा पहिरो जाँदा घर पछाडि रहेको बाँसको झ्याङसमेत खसेको थियो । त्यसपछि घरको सुरक्षाका लागि संरक्षण पर्खाल निर्माण गर्न उहाँले विभिन्न निकायसँग सहयोग माग्नुभएको थियो ।
ललितपुर महानगरपालिकाको विपद् शाखाबाट संरक्षणको कामका लागि १० लाख रुपैयाँसम्म बजेट उपलब्ध भएको उहाँले बताउनुभयो ।
यद्धपी संरक्षणको काम नसकिँदै घर बगाएको उहाँले बताउनु भयो । उहाँले घरको बीमा नगरेको कारण समस्या भएको बताउनुभयो ।
घर निर्माणमा लागेको खर्चमध्ये २८ लाख ८० हजार रुपैयाँ अझै तिर्न बाँकी रहेको भन्दै उहाँले सरकारबाट सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गत २०८१ सालको वर्षाको कारणबाट छिमेकी मेरो सँगैको घरको जग्गाको छिमेकीको कारणबाट उसको ठाउँमा चाहिँ पहिरो गएर तल मैले रोपेको बाँसको झ्याङ पनि खसेको थियो । त्यसको सुरक्षाको लागि प्रोटेक्सनको लागि धेरै बजेट लाग्ने भएको कारण धेरै ठाउँमा गुहारेको थिएँ । पछि नगरपालिकाको विपद् शाखाबाट चाहिँ १० लाखसम्म बजेट दिनुभएको हो । काम गर्दागर्दै अस्ति ९, १० र ११ गतेको अवरिल वर्षाको कारण घरको पछाडिको भाग भाँसिएर जाँदा यस्तो भयो । नगरपालिकाबाट रेस्क्यु टिमहरु आउनुभएर उहाँहरुले चाहिँ धेरै त्यहाँको लत्ताकपडाहरु सबै निकाल्न सहायता गर्नुभयो । मेरो आफ्नो दुःखले कमाएर गरेको सम्पतिबाट मैले जोडेको घर हो । अनि मैले केही बैंकको लोन लिएर पनि मैले यो गरेको छु । लोन अझै मेरो २८ लाख ८० हजार रुपैयाँ जति तिर्न बाँकी छ । वडाअध्यक्षज्यूले केही सहयोग गर्छु भन्नुभएको छ ।’
घर भत्किएपनि कुनै मानवीय क्षति भने भएको छैन । –न्युज एजेन्सी नेपाल








