काठमाडौँ । नेपालका शिभाली गुरुङ र स्वस्तिका बिष्टको जोडी जारी २०औँ एसियाली खेलकुदको टेनिसतर्फ महिला डबल्सको पहिलो चरणबाटै बाहिरिएको छ ।
सोमबार हिगासियामा पार्क टेनिस सेन्टरमा भएको खेलमा नेपाली जोडी आयोजक जापानका मोमोको कोबोरी र अयानो सिमिजुसँग ६–०, ६–० को सोझो सेटमा पराजित भयो ।
विश्व वरीयतामा रहेका सिनियर खेलाडीविरुद्ध प्रतिस्पर्धा गरेका शिभाली र स्वस्तिकाले चुनौती प्रस्तुत गर्ने प्रयास गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेनन् । प्रतियोगिताका कम उमेरका खेलाडीमध्येका शिभाली १५ वर्ष र स्वस्तिका १६ वर्षका छन् ।
योसँगै शिभालीको जारी एसियाली खेलकुदमा टेनिसतर्फको चुनौती समाप्त भएको छ । उनले महिला एकल, मिक्स्ड डबल्स र महिला डबल्स गरी तीनवटै स्पर्धामा पराजय बेहोरेकी छन् । स्वस्तिकाले भने मंगलबार निसान श्रेष्ठसँग मिक्स्ड डबल्समा प्रतिस्पर्धा गर्नेछिन् ।
टेनिसतर्फ नेपालले पहिलो चरणमा पुरुष डबल्समा मात्रै जित हात पारेको छ । अभिशेक बास्तोला र प्रदीप खड्काको जोडीले पहिलो चरणमा मंगोलियाका खेलाडीलाई पराजित गरेको थियो । अब उक्त जोडीले मंगलबार भारतका अनिरुद्ध चन्द्रशेखर र नारायणस्वामी बालाजीसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो चरणमा बाई पाएका प्रदीपले पुरुष एकलको दोस्रो चरणमा थाइल्यान्डका कासिदित सामरेजसँग खेल्नेछन् भने अभिशेकले कजाकस्तानका एलेक्जेन्डर सेभचेन्कोसँग प्रतिस्पर्धा गर्नेछन् ।
मिक्स्ड डबल्समा स्वस्तिका र निसानको जोडीले मंगलबार इन्डोनेसियाका रुङकाट क्रिस्टोफर र सुत्जियादी अल्दिलासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।








