१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने

वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने
अ अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लगातारको वर्षा, बाढी र पहिरोका कारण प्रभावित भएको विद्युत् आपूर्ति मंगलबारसम्म देशभर सहज हुने जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढी प्रभावित जिल्लाहरूमा मंगलबारसम्म विद्युत् आपूर्ति नियमित हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार लगातारको वर्षा र त्यसपछिको बाढीपहिरोका कारण आइतबार देशभर करिब एक हजार मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको थियो । अधिकांश विद्युत् पुनः प्रणालीमा जोडिसकिएको उहाँले बताउनुभयो ।

बाढीका कारण म्याग्दी, बागलुङ, मुस्ताङ, तनहुँ, रुकुम पूर्व र प्युठानलगायतका जिल्लामा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको थियो । तीमध्ये म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत् सेवा सुचारु भइसकेको प्राधिकरणले जनाएको छ । मुस्ताङ, प्युठान र रोल्पामा सोमबार साँझसम्म तथा देशभर मंगलबारसम्म विद्युत् आपूर्ति सहज हुने श्रेष्ठले बताउनुभयो ।

बाढीका कारण प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध तथा टेलरेस गेटमा क्षति पुगेको छ । आयोजनाको टर्बाइन फ्लोरमा समेत पानी पसेकाले सरसफाइ तथा मर्मतपछि सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने उहाँले जानकारी दिनुभयो ।

प्रसारणतर्फ कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । उक्त क्षतिका कारण त्यस क्षेत्रमा रहेका सातवटा जलविद्युत् केन्द्रबाट उत्पादन हुने करिब १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन ।

श्रेष्ठका अनुसार प्रणालीबाट बाहिर रहेका आठवटा आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ । राहुघाट जलविद्युत् आयोजनाको ४० मेगावाट बाहेक राहुघाट सबस्टेसनसँग जोडिएका आयोजनाबाट १२७ मेगावाट उत्पादन सञ्चालनमा ल्याउन सकिने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

यसैगरी, बाढीका कारण अवरुद्ध सेती र मादी करिडोरका कुल २६२ मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आइसकेका छन् । मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पनि सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण अवरुद्ध १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रसमेत सोमबार पिक समयमा सञ्चालनमा आउने श्रेष्ठले जानकारी दिनुभयो ।

वितरण लाइनतर्फ वर्षाका कारण म्याग्दी, मनाङ, बागलुङ, मुस्ताङ, तनहुँ, रुकुम पूर्व र प्युठानमा विद्युत् सेवा प्रभावित भएको थियो । बाढीले वितरण संरचना बगाउनुका साथै विद्युत्का टावर ढालेपछि ठूलो परिमाणमा विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले प्रणालीबाट बाहिरिएका विद्युत् आयोजनालाई पुनः सञ्चालनमा ल्याउन प्राधिकरण सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो ।