काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिने क्रममा सरकारले विधि र प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद थेबेले पूर्वप्रधानन्यायाधीशलाई प्रहरीले सम्मानपूर्वक नियन्त्रणमा लिनुपर्नेमा राज्यले नै ‘अपहरणको शैली’ अपनाएको दाबी गर्नुभयो । उहाँले सरकारको कार्यशैलीलाई ‘टोले गुण्डा’को संज्ञा दिँदै यस्तो गतिविधिले सुशासन कायम नहुने बताउनुभयो ।
उहाँले विधि र कानून मिचेर गरिएको धरपकडले सरकारको अधिनायकवादी चरित्र देखाएको दाबी गर्नुभयो । सरकार स्वयं ‘धामी र झाँक्री’ दुवै बनेर अराजकता मच्चाउन उद्यत रहेको आरोप लगाउँदै उहाँले राज्यका गतिविधिले जनतामा त्रास फैलाउने काम मात्रै गरेको बताउनुभयो ।
सांसद थेबेले सरकार सामाजिक सञ्जालमा सामग्री बनाउन र प्रचारबाजीमा व्यस्त रहेको तर देशमा पुनर्निर्माणको काम ठप्प भएको आरोप लगाउनुभयो । प्राकृतिक विपद्को सामना गर्न सरकार असफल भएको भन्दै उहाँले पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रहरी नै थियो भने बर्दी हुन्थ्यो, तर यहाँ त राज्यकै नाममा गुण्डागर्दी गरियो। यो विधि र कानूनको उपहास हो ।’
कालीगण्डकी, बागमती र कोशीमा आएको विपद्ले देशलाई प्रभावित बनाइरहेको उल्लेख गर्दै थेबेले जलवायु न्यायका विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनबाट पन्छिँदै आएको उहाँको आरोप थियो ।
ग्यास अभाव र महँगीका कारण जनताको अवस्था कठिन बन्दै गएको उल्लेख गर्दै उहाँले सरकार जवाफदेही बन्न नसकेको बताउनुभयो । मुद्रास्फीति दर १ दशमलव ४ प्रतिशतबाट बढेर ५ दशमलव ५५ प्रतिशत पुगेको दाबी गर्दै उहाँले आर्थिक संकटतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
एमाले सधैँ स्थिरताको पक्षमा रहेको दाबी गर्दै थेबेले सरकारको गलत रवैयाका कारण जनताले सडकमा आउनुपर्ने अवस्था सिर्जना भइरहेको चेतावनीसमेत दिनुभयो ।