चितवन। गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या घटेको छ ।
गत आर्थिक वर्षको मङ्सिरसम्म ५३८ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यस आर्थिक वर्षको सोही समयमा ४२६ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालय प्रमुख निर्मल घिमिरेकाअनुसार गत आवको साउनमा ४५, भदौमा १२७, असोजमा १४३, कात्तिकमा १२७ र मङ्सिरमा ९६ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो ।
यस आर्थिक वर्षको साउनमा ७१, भदौमा ६५, असोजमा १२१, कात्तिकमा १२४ र मङ्सिरमा ५४ जनामा यो रोगको सङ्क्रमण देखिएको घिमिरेले बताउनुभयो ।
मौसममा आएको परिवर्तनसँगै यो रोगको सङ्क्रमण विस्तारै घट्दै जाने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेष गरी गर्मी मौसममा बढी सङ्क्रमण फैलने यो रोग अब घट्दै जान्छ । गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ ।”
मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्ने गर्छ । खेतबारीमा एवं विशेषगरी घर बाहिर काम गर्ने व्यक्तिमा यो रोग लाग्ने उहाँले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ ।
किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जन्डिस हुने र पेट दुख्ने लक्षण देखिन्छ । सङ्क्रमण घटे पनि जाडो समयमा समेत बिरामी फाट्टफुट्ट भेटिने क्रम भने जारी रहेको उहाँको भनाइ छ ।










