• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

निर्माणाधीन नमोबुद्ध–तेमाल खण्डका ५९ घर भत्काइँदै



काभ्रेपलाञ्चोक । निर्माणाधीन नमोबुद्ध–तेमाल सडक खण्डअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानका ५९ घर तथा भौतिक संरचना भत्काइने भएको छ । यसका लागि स्थानीयलाई सार्वजनिक स्थलमा बनाइएका उक्त संरचना भत्काइ सडक दायाँबाँयाँ खाली गरिदिन गाउँपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मच्छेसम्मको १३ किलोमिटर स्तरोन्नतिसहित पक्की बनाउने कार्य भइरहेको छ । पोखरी नारायणस्थानमा सार्वजनिक जग्गा कब्जा गरी पक्की संरचनासमेत निर्माण गरिएको थियो । विसं २०५५ मा भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा उक्त स्थानमा घर बनाउन थालेपछि बजारका रुपमा विकसित भइसकेको छ ।

गाउँपालिका उपाध्यक्ष दलमान लामाले पोखरी नारायणस्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका सबै घर–टहरासहितका संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीयलाई समयसीमाभित्रै घर–टहरा हटाउन सूचनाबाहेक अन्य माध्यमबाटसमेत अनुरोध गरिएको हो । उक्त स्थानमा रहेको सार्वजनिक पोखरीमा निर्माण गरिएका पक्की संरचना हटाइ पहिलाकै अवस्थामा ल्याउन पनि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

बजारमा स्थानीय तेमाल सिं तामाङलगायत केहीले विसं २०५९ पछि पक्की घर निर्माण गरेका छन् । “पक्की संरचना त बनाइयो, तर गाउँपालिकाले आफँैं भत्काउन सूचना गरेको छ, हामी पक्की संरचना जोगाइदिन आग्रह गर्दैछौँ”, तामाङले भन्नुभयो । उहाँले केही स्थानीयवासीको ‘घरबास’नै उठ्ने भएकाले संवेदनशील बन्न जनप्रतिनिधिलाई अनुरोध गरेको बताउनुभयो ।

गाउँपालिकाद्वारा जारी सूचनामा समयसीमाभित्र आफैँले भत्काउन र अटेर गरेमा गाउँपालिका कार्यालयले भत्काउने उल्लेख गरिएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले भकुण्डेबाट मेच्छेसम्म दुई खण्डअन्तर्गत १३ किमी सडक कालोपत्र गर्नेगरी २० महिनाअघि (२०७९ साउन १६ गते) निर्माण कम्पनी केएस देवी रमनरतेज जेभीसँग रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्ने छ ।

आगामी साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने उक्त सडक स्तरोन्नति एवं विस्तारको काम ढिलाइ हुँदा पानी परे हिलो र घाम लागे धुलोका सास्ती खेप्नुपरेको भन्दै नमोबुद्ध नगर र तेमाल गाउँपालिकाका स्थानीयले सडक डिभिजन कार्यालय तथा निर्माण कम्पनीलाई विरोध जनाउँदै आएका छन् । हाल उक्त खण्डमा २२ प्रतिशत मात्रै काम भएको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले शुक्रबार निर्माणाधीन उक्त सडकको अनुगमनपछि कार्यतालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन निर्देशन दिएको छ । साथै कामको प्रगति विवरण पेस समेत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । यसअघि स्थानीयले स्तरोन्नति सुरु गरिएको उक्त सडकको अनुगमन गरी काम छिटो सम्पन्न गराउनुपर्ने माग गर्दै आएका थिए । रासस