काठमाडौँ । कञ्चनपुरस्थित महाकाली नदीमा आएको भीषण बाढीका कारण पर्यटकीय तथा रणनीतिक महत्व बोकेको दोधरा चाँदनी झोलुङ्गे पुलको करिब ७५ मिटर भाग क्षतिग्रस्त भएको छ ।
नदीको भङ्गालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्र कटान गरेपछि महाकालीपारिको बस्तीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने मुख्य पैदलमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले पुल क्षतिग्रस्त हुँदा दोधरा चाँदनीवासीको दैनिक जनजीवन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने सांसद महताका अनुसार घटना राति करिब ११ बजे भएकाले मानवीय क्षति हुन पाएन । तर पुल क्षतिग्रस्त भएपछि स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी तथा दैनिक ज्यालादारीमा काम गर्ने सर्वसाधारणको आवागमन ठप्प भएको छ ।
सांसद महताका अनुसार महाकालीपारिको दोधरा चाँदनीलाई जिल्लाको सदरमुकामसँग जोड्ने उद्देश्यले वि.सं. २०५७ सालदेखि निर्माण सुरु गरिएको पुल २०६१ सालमा सम्पन्न भएको थियो । ९ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएको १ हजार ४५३ मिटर लामो यो पुल एसियाकै लामो झोलुङ्गे पुलका रूपमा समेत परिचित छ ।
पुल निर्माण हुनुअघि दोधरा चाँदनीका बासिन्दा सदरमुकाम पुग्न भारतीय भूमि हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो । पुल सञ्चालनमा आएपछि उक्त बाध्यता अन्त्य हुनुका साथै क्षेत्र पश्चिम नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा समेत विकास भएको थियो ।
पुल क्षतिग्रस्त भएपछि सीमावर्ती दोधरा चाँदनी क्षेत्रको पर्यटन व्यवसायसँगै स्थानीय अर्थतन्त्रमा समेत ठूलो असर परेको सांसद महताले बताउनुभयो । उहाँले यो घटना भौतिक संरचनाको क्षतिमा मात्र सीमित नभई हजारौँ नागरिकको आवागमन, रोजगारी र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पार्ने विषय भएको उल्लेख गर्नुभयो ।
सांसद महताले तत्काल स्थलगत प्राविधिक टोली खटाएर क्षतिको विस्तृत मूल्यांकन गर्न, पुलको समग्र संरचनागत सुरक्षाको परीक्षण गर्न तथा यथाशीघ्र पुनर्निर्माण अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग माग गर्नुभयो ।
त्यस्तै, महाकाली नदीमा आउने मौसमी बाढी र कटानबाट भविष्यमा यस्ता रणनीतिक पूर्वाधारलाई सुरक्षित राख्न नदी नियन्त्रण, तटबन्ध निर्माण तथा दीर्घकालीन सुरक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।







