काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोबाट बागलुङ र म्याग्दीमा भएको क्षतिलाई ध्यानमा राख्दै दुवै जिल्लाका प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले असोज ८ देखि ११ गतेसम्म आएको भीषण बाढीपहिरोका कारण बागलुङमा मात्रै १३ जनाको ज्यान गएको र ठूलो मात्रामा भौतिक संरचना क्षतिग्रस्त भएको बताउनुभयो।
उहाँका अनुसार ताराखोला, निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र गल्कोटलगायत क्षेत्रमा बाढी तथा हावाहुरीले घर, गोठ, खेतीयोग्य जमिन र सार्वजनिक संरचनामा व्यापक क्षति पुर्याएको छ। सयौँ घर तथा गोठ बगेका छन् भने खेतीयोग्य जमिन बगरमा परिणत भएको उहाँले जानकारी दिनुभयो।
विपद् आएको पाँच दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा टेलिफोन, विद्युत्, खानेपानी र सडक सेवा पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सांसद शर्माले बताउनुभयो। सञ्चार सम्पर्क विच्छेद हुँदा कतिपय क्षेत्र अझै सम्पर्कविहीन रहेको र दैनिक उपभोग्य सामग्रीको अभाव बढ्दै गएको उहाँको भनाइ छ।
मध्यपहाडी लोकमार्गको महत्वपूर्ण संरचना मालढुंगा पुलसमेत क्षतिग्रस्त भएकाले यातायात सञ्चालनमा समस्या हुँदा प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन कठिनाइ भएको उहाँले बताउनुभयो।
सांसद शर्माले भोटेकोशी बाढीका प्रभावितलाई उपलब्ध गराइएको जस्तै राहत प्याकेज बागलुङका बाढीपहिरो प्रभावितका लागि पनि घोषणा गर्न सरकारसँग माग गर्नुभयो। उहाँले तत्काल सडक तथा सञ्चार सेवा पुनःस्थापना गरी प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो।