१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार

युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार
अ अ+ अ-

काठमाडौँ, १४ असोज (रासस): नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ । विशेषगरी जीवनशैलीमा आएको परिवर्तन, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा तनावजस्ता कारणले कोरोनरी मुटुरोगको जोखिम बढिरहेको चिकित्सकहरू बताउँछन् । चिन्ताको विषय त झन् कम उमेरमै मुटुरोग र हृदयघातका घटना देखिनु हो ।

मुटुरोगका जोखिम र लक्षणबारे समयमै जानकारी लिनु तथा नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउनु यसको रोकथामका लागि महत्वपूर्ण मानिन्छ । प्रस्तुत छ, मुटुरोगको अवस्था, युवा उमेरमै यसको जोखिम बढ्नुका कारण, सुरुआती लक्षण, उपचारमा पहुँच तथा रोकथामका उपायलगायत विषयमा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत वरिष्ठ हृदयरोग विशेषज्ञ डा. विनयकुमार रौनियारसँग राष्ट्रिय समाचार समिति (रासस) का लागि स्थानीय समाचारदाता लोकेश धामीले गर्नुभएको कुराकानीको सम्पादित अंशः

नेपालमा हाल मुटुरोगको अवस्था कस्तो छ ?

मुटुमा विभिन्न प्रकारका रोग हुन्छन् । मुटुको बाथरोग, जन्मजात मुटुरोग, कोरोनरी मुटुरोग र मुटुको धड्कनसम्बन्धी रोग प्रमुख हुन् । अहिले नेपालमा मुटुको बाथरोग घट्दो क्रममा छ तर कोरोनरी मुटुरोग भने बढिरहेको छ । यसका प्रमुख कारण जीवनशैलीमा आएको परिवर्तन हो । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, तनाव र व्यायामको कमीले कोरोनरी मुटुरोगको जोखिम बढाउँछ । नेपालमा यसको अर्को चिन्ताजनक पक्ष भनेको कम उमेरमै रोग देखिनु हो । पश्चिमी देशमा सामान्यतः वृद्ध अवस्थामा देखिने यो रोग नेपालमा ३०–४० वर्षकै उमेरमा देखिन थालेको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पनि यस्ता बिरामीको सङ्ख्या बढिरहेको छ ।

युवा उमेरमै कोरोनरी मुटुरोग देखिनुको मुख्य कारण के हो ?

कोरोनरी मुटुरोगको भयावह रूप हृदयघात हो । कहिलेकाहीँ अचानक मुटुको धड्कन बन्द हुने अवस्था पनि आउन सक्छ । मानिस बोलिरहेको, काम गरिरहेको वा व्यायाम गरिरहेका अवस्थामा एक्कासी ढलेका घटना हामीले सुन्ने र देख्ने गरेका छौँ । कहिलेकाहीँ कुनै स्पष्ट चेतावनीबिना पनि कोरोनरी मुटुरोग गम्भीर रूपमा देखिन सक्छ । यसका जोखिम कारकमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगसँगै तनाव र व्यायामको कमी प्रमुख छन् । अहिले हाम्रो जीवनशैली निकै परिवर्तन भएको छ । सामान्य कामका लागि पनि सवारीसाधन प्रयोग गर्ने, हिँडडुल कम गर्ने प्रवृत्ति बढेको छ ।

अमेरिकन कलेज अफ कार्डियोलोजीले वयस्कलाई हप्तामा कम्तीमा पाँच दिन करिब ४० मिनेट ब्रिस्क वाकिङ वा एरोबिक गतिविधि गर्न सुझाएको छ तर हामीमध्ये धेरैले पर्याप्त व्यायाम गरिरहेका छैनौँ । खानपानमा आएको परिवर्तन पनि अर्को कारण हो । पहिले चना, भटमास, तरकारी–रोटी, चिउरा–तरकारीजस्ता खाना बढी खाने गरिन्थ्यो । अहिले मम, बर्गर, पिज्जाजस्ता खानेकुराको प्रयोग बढेको छ । यसले पनि मुटुरोगको जोखिम बढाउन सक्छ । साथै, परिवारमा बुबा, आमा, दाजुभाइ वा दिदीबहिनीमध्ये कसैलाई कम उमेरमै हृदयघात भएको छ भने त्यसलाई पनि महत्वपूर्ण जोखिम कारक मानिन्छ ।

कोरोनरी मुटुरोगका सुरुआती लक्षण के–के हुन् ?

कोरोनरी मुटुरोगको सुरुआती लक्षणलाई हामी एन्जाइना भन्छौँ । सामान्य अवस्थामा कुनै लक्षण नदेखिए पनि भारी काम गर्दा, भ¥याङ उक्लिँदा वा दौडिँदा छातीको बीच भाग वा देब्रेतिर भारी वस्तुले थिचेजस्तो हुन सक्छ । सास फेर्न गाह्रो हुने, छिट्टै थाक्ने वा सामान्य गतिविधिमै असहज महसुस हुने पनि सुरुआती लक्षण हुन सक्छ । पहिले सामान्य रूपमा गर्दै आएको काम गर्दा अहिले छिट्टै थकान महसुस हुन्छ भने त्यसलाई सामान्यरूपमा लिनु हुँदैन । यो मुटुसम्बन्धी समस्या सुरु भएको संकेत हुन सक्छ ।

महिला र पुरुषमा मुटुरोगका लक्षण फरक देखिन सक्छन् ?

महिलामा लक्षण केही फरक रूपमा देखिन सक्छ । विशेषगरी वृद्ध, मधुमेह भएका व्यक्ति र महिलामा हृदयघात हुँदा सधैँ धेरै छाती दुख्ने मात्र हुँदैन । कतिपय महिलाले छिट्टै थाक्ने, सानो काम गर्दा पनि स्याँस्याँ हुने वा असहज महसुस हुनेजस्ता लक्षण बताउनुहुन्छ । महिलालाई मुटुरोग हुँदैन भन्ने धारणा गलत हो । महिनावारी सुक्नुअघि एस्ट्रोजन हर्मोनका कारण केही सुरक्षा हुन्छ । उमेर बढ्दै जाँदा र विशेषगरी महिनावारी सुकेपछि त्यो सुरक्षा कम हुँदै जाँदा मुटुरोगको जोखिम बढ्छ । तर, महिनावारीअघि पनि महिलालाई हृदयघात हुन सक्छ ।

कसैलाई हृदयघात भएको अवस्थामा तत्काल के गर्नुपर्छ ?

पश्चिमी देशका ठूला कार्यालय, सुपरमार्केटलगायत ठाउँमा ‘डिफिब्रिलेटर’ राखिएको हुन्छ । नेपालमा त्यस्तो व्यवस्था पर्याप्त छैन । यदि कोही एक्कासी ढल्नुभयो, नाडी महसुस भएन वा बोल्नुभएन भने तुरुन्तै बेसिक लाइफ सपोर्टअन्तर्गत छाती थिच्ने अर्थात् सिपीआर सुरु गर्नुपर्छ र तत्काल चिकित्सकीय सहयोगका लागि सम्पर्क गर्नुपर्छ । यदि हृदयघातको लक्षण देखिएको छ र व्यक्तिलाई मधुमेह, उच्च रक्तचापजस्ता जोखिम छन् भने एस्पिरिन प्रयोग गर्न सकिन्छ । सामान्यतया ३०० मिलिग्राम एस्पिरिन चपाएर नजिकको अस्पताल जान हामी सल्लाह दिन्छौँ ।

नेपालमा मुटुरोगको उपचार कत्तिको महँगो छ ?

मुटुरोगको निदान र उपचारका लागि अहिले विदेश जानुपर्ने अवस्था छैन । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमै धेरैजसो उपचार गर्न सक्षम छौँ तर मुटुरोग एकपटक उपचार गरेर मात्र निको हुने रोग होइन । जीवनभर औषधि सेवन गर्नुपर्ने हुन सक्छ र औषधि सस्तो पनि हुँदैन ।

सरकारले विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको छ । बिमाबाट केही औषधि उपलब्ध हुन्छ । १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि चिल्ड्रेन असिस्टेन्स प्रोग्राम छ । ७५ वर्षभन्दा माथिका नेपाली नागरिकका लागि सिनियर सिटिजन स्किमअन्तर्गत निश्चित उपचार तथा शल्यक्रियामा सरकारले खर्च व्यहोर्ने व्यवस्था छ । १५ देखि ७५ वर्षसम्मका विपन्न वर्गका बिरामीले नगरपालिकाको सिफारिसका आधारमा एक लाख रुपैयाँसम्म छुट पाउने व्यवस्था छ । तर, मुटुरोग लागिसकेपछि जीवनभर उपचार गर्नुपर्ने हुनसक्ने भएकाले रोकथाममा बढी ध्यान दिनुपर्छ ।

मुटुरोगको उपचारमा पहुँच र जनचेतनाको अवस्था कस्तो पाउनुभएको छ ?

मैले करिब २० वर्षदेखि अभ्यास गरिरहेको छु । सुरुका वर्ष र अहिलेको अवस्थाबीच धेरै फरक देखेको छु । अहिले जिल्ला अस्पतालदेखि प्राथमिक स्वास्थ्य चौकीसम्म स्वास्थ्य सेवा विस्तार भएको छ । सामान्य रक्तचाप र मधुमेह जाँच हुने तथा रक्तचापका औषधि पनि उपलब्ध हुने अवस्था छ । लक्षण देखिएपछि चाँडै स्वास्थ्य संस्थामा जाने चेतना पनि बढेको छ । सामाजिक सञ्जाल र सरकारका नीतिनियमले पनि यसमा सहयोग गरेका छन् । पहिले गाउँमा अचानक मृत्यु भएका घटनालाई फरक रूपमा बुझिन्थ्यो । अहिले अस्पताल पुगेर रोगको निदान हुने गरेको छ । उपचार पनि नेपालमै धेरै हदसम्म सम्भव छ । अहिले नेपालमा करिब ९५ प्रतिशतभन्दा बढी मुटुरोगको उपचार सम्भव छ ।

सहरमा हुक्का र भेपको प्रयोग बढिरहेको छ । यसले मुटुमा कस्तो असर गर्छ ?

हुक्का होस् वा अहिले प्रचलनमा आएको भेप, जुनसुकै प्रकारको धुमपान पनि मुटुका लागि राम्रो होइन । हामीले कुनै पनि रूपमा निकोटिनको प्रयोगलाई मुटुका लागि राम्रो मान्दैनौँ । त्यसैले ‘एनी फर्म अफ निकोटिन इज नट गुड फर हर्ट’ भन्ने कुरा बुझ्न जरुरी छ । कतिपय मानिसले चुरोट खादिन, हुक्का मात्र खान्छु भन्ने गरेको सुनिन्छ । तर, चुरोट नखाएर हुक्का सेवन गर्दा मुटुमा असर हुँदैन भन्ने होइन । हुक्का पनि धुमपानकै एउटा रूप हो । अहिले भेपको प्रयोग पनि बढिरहेको छ । त्यसैले चुरोट, हुक्का वा भेपमध्ये जुनसुकै माध्यमबाट निकोटिनको प्रयोग गरे पनि त्यो मुटुका लागि राम्रो होइन । सकेसम्म कुनै पनि प्रकारको निकोटिनबाट टाढा रहनुपर्छ ।

अन्त्यमा मुटुलाई स्वस्थ राख्न सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ?

उच्च रक्तचाप छ भने नियन्त्रण गर्न औषधि खान हिचकिचाउनु हुँदैन । मधुमेह र कोलेस्ट्रोल छ भने त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । चिकित्सकले कोलेस्ट्रोलको औषधि खान सुझाव दिनुभएको छ भने नियमित खानुपर्छ । सूर्तीजन्य पदार्थको प्रयोग गर्नुहुन्छ भने आजैदेखि बन्द गर्नुपर्छ । हप्तामा कम्तीमा पाँच दिन ३० देखि ४० मिनेट ब्रिस्क वाकिङ वा अन्य एरोबिक गतिविधि गर्नुपर्छ । विशेषगरी लामो समय टेबलमा बसेर काम गर्ने व्यक्तिका लागि व्यायाम झनै महत्वपूर्ण छ । खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । थपेर काँचो नुन खाने बानी त्याग्नुपर्छ । चिनी तथा प्रशोधित गुलियो खानेकुरा, धेरै चिल्लो र जङ्क फुडको सेवन कम गर्नुपर्छ । प्राकृतिक फलफूल र तरकारी बढी खानुपर्छ । तनावमुक्त जीवन जिउने प्रयास गर्नुपर्छ । स्वस्थ व्यक्तिले पनि वर्षमा कम्तीमा एकपटक रक्तचाप, सुगर, कोलेस्ट्रोल जाँच गर्नुका साथै इसिजी गर्न बिर्सनु हुँदैन ।