काठमाडाैँ । अविरल वर्षाका कारण क्षति पुगेको डुम्रे–बेँसीसहर–चामे सडकखण्ड सञ्चालनमा ल्याउन तीव्र गतिमा काम भइरहेको छ। सडकखण्डअन्तर्गत बेँसीसहर–चामेको रामबजारमा पहिरो हटाएर यातायात सुचारु गरिएको छ।
तिमाङदेखि कोतोसम्मका विभिन्न स्थानमा खसेको पहिरो र लेदो हटाउने काम जारी रहेको छ। फापरखेतमा स्थानीयको जग्गा कटिङ गर्नुपर्ने तथा क्षतिपूर्तिसम्बन्धी देखिएको समस्या पालिका र जिल्ला प्रशासनसँगको समन्वयमा समाधान गरिएको छ।

खोत्रोमा पूर्ण रूपमा क्षति पुगेको सडकखण्डमा पछाडिबाट कटिङ गरी टेवा पर्खाल निर्माण गरेर साँझसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। खोत्रो नजिकैको भीरमा भने नेपाली सेनासँगको समन्वयमा ब्लास्टिङको तयारी भइरहेको छ।
त्यस्तै, गरछापमा थुप्रिएको लेदो तथा पहिरो हटाउने कार्य पनि जारी छ। बाढीले बगाएका काठेपुल रहेका स्थानमा डाइभर्सन निर्माण गरी आगामी शुक्रबारसम्म डुम्रे–बेँसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ।







