काठमाडौँ । जापानको नागोयामा जारी २०औँ एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्।
आइची इन्टरनेसनल एरिनामा बुधबार भएको प्रतिस्पर्धामा नेपालका विकास विक, विशेष विक, देवकीमाया श्रेष्ठ र निशा श्रेष्ठले पहिलो चरण पार गर्न सकेनन्।
पुरुष ६० केजीमुनि तौल समूहमा विकास उज्बेकिस्तानका समरिद्दिन कुचकारोभसँग इप्पोनका आधारमा पराजित भए। पहिलो चरणमा बाई पाएका विकासले त्यसको फाइदा उठाउन सकेनन्। एसियन जुनियर तथा विश्व च्याम्पियनसिपका स्वर्ण विजेता कुचकारोभले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै ४८ सेकेन्डमै विकासलाई पराजित गरे।
महिला ४८ केजीमुनि तौल समूहमा निशा श्रेष्ठ हङकङकी योङ का लीसँग इप्पोनका आधारमा पराजित भइन्। उनले दुई मिनेट ३२ सेकेन्डमै खेल गुमाइन्।
महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ भने भियतनामकी लाम थी एनगान हासँग युकोका आधारमा पराजित भइन्। अनुभवी देवकीमायाले निर्धारित समयको अन्तिमसम्म चुनौती दिए पनि खेल सकिन २० सेकेन्ड बाँकी रहँदा युको सामना गरेपछि पराजित हुन पुगिन्। यसअघि दुवैले एक–एक पटक सिदो (पहेंलो कार्ड) पाएका थिए।
पुरुष ६६ केजीमुनि विशेष विक हङकङका वाङ का कीसँग वाजारीका आधारमा पराजित भए। चार मिनेटसम्म प्रतिस्पर्धा गरेका विशेषले अन्ततः हार बेहोरे। विकास र विशेष दाजुभाइ हुन् भने निशा र देवकीमाया पनि दिदीबहिनी हुन्।
नेपालबाट अब जुडोमा पुनम श्रेष्ठले महिला ७० केजीमुनि र सुजन गुरुङले पुरुष ९० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले मिक्स टिम विधामा पनि सहभागिता जनाउनेछ।