सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
बुधबार बिहान करिब ८ः३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले घाइते आठै जनाको उद्धार गरी उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा पठाएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन्।
जिप चालक बेथानचोक गाउँपालिका–३ का करिब २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








