काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले उठाएको ‘जलवायु न्याय’को मुद्दाले विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराउन सफल भएको परराष्ट्रमन्त्री शिशिर खनालले दाबी गर्नुभएको छ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र साहको सम्बोधन तथा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका धारणाले नेपालको कूटनीतिक छवि थप सुदृढ भएको बताउनुभयो ।
महासभाका क्रममा जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेको असरलाई ‘हिमालयन सुनामी’का रूपमा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । विशेषगरी भोटेकोशी बाढीबाट भएको क्षतिपछि पुनर्निर्माणका लागि द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामार्फत आर्थिक तथा प्राविधिक सहयोगको आग्रह गरिएको उहाँको भनाइ छ ।
नेपालले अब आपत्कालीन राहतमा मात्र सीमित नभई विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जलवायु वित्त तथा ‘लस एन्ड ड्यामेज फन्ड’ लगायतका संयन्त्रबाट स्रोत परिचालनमा जोड दिएको मन्त्री खनालले बताउनुभयो ।

उहाँका अनुसार महासभाको भ्रमणका क्रममा नेपालले ग्रेनाडा, नामिबिया र सेनेगलसँग नयाँ कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १८८ पुगेको छ । विभिन्न मुलुकसँग कूटनीतिक तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको उहाँले जानकारी दिनुभयो ।
मन्त्री खनालले नेपालमा भएको राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम, नेपाली नागरिकको सुशासन र समृद्धिप्रतिको आकांक्षा तथा विश्वका समसामयिक विषयमा नेपालको दृष्टिकोण अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर महासभाले दिएको बताउनुभयो ।
प्रधानमन्त्री साहले महासभाको महासामान्य छलफलमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका विषय प्रभावकारी रूपमा प्रस्तुत गर्नुभएको उहाँको भनाइ छ । लस एन्ड ड्यामेज फन्डलगायत जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन तथा जलवायु न्यायलाई व्यवहारमा कार्यान्वयन गर्न प्रधानमन्त्रीले गरेको आह्वान महत्वपूर्ण रहेको मन्त्री खनालले बताउनुभयो ।
भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा सहयोगमा योगदान पुर्याउने छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायप्रति नेपालका तर्फबाट आभार व्यक्त गर्दै आगामी पुनर्निर्माणका लागि थप सहयोगको आग्रह गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री साहको सम्बोधनबारे चर्चा गर्दै मन्त्री खनालले उक्त सम्बोधन यस वर्षको महासभामा धेरै हेरिएका र चासो लिइएका भाषणमध्ये एक बनेको दाबी गर्नुभयो । संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) ले बाढीपीडितका लागि घोषणा गरेको आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले अन्य अन्तर्राष्ट्रिय समुदायबाट पनि पुनर्निर्माणमा सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
मन्त्री खनालले महासभामा नेपालको सहभागिता र विभिन्न बहुपक्षीय तथा द्विपक्षीय भेटवार्ताबाट नेपालको कूटनीतिक छवि थप सुदृढ भएको दाबी गर्दै आगामी दिनमा राष्ट्रिय हित प्रवर्द्धनका लागि नेपालको कूटनीतिलाई थप प्रभावकारी बनाउने आधार तयार भएको बताउनुभयो ।







