काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ।
बागमती प्रादेशिक रत्ननगर बकुलहर अस्पतालको अनुगमनका क्रममा मुख्यमन्त्री थापा मगरले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा सेवा विस्तारबारे जानकारी लिनुभएको हो।

अनुगमनपछि उहाँले अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक स्रोत, साधन र पूर्वाधारको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले अस्पतालको क्षमता अभिवृद्धि र सेवा गुणस्तर सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।
मुख्यमन्त्री थापा मगरले अस्पतालको सेवा प्रवाह तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मानसमेत गर्नुभयो।
सम्मान कार्यक्रममा उहाँले स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पण, मेहनत र सेवाभावले नागरिकमा स्वास्थ्य सेवाप्रतिको विश्वास थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो। स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र सेवा गुणस्तर सुधारलाई निरन्तरता दिने उहाँको भनाइ थियो।
मुख्यमन्त्री थापा मगरले ‘स्वस्थ नागरिक, समृद्ध बागमती’ निर्माणको अभियानलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।







