काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप उचाइ दिएको दाबी गर्नुभएको छ।
बुधबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको सम्बोधनले अन्तर्राष्ट्रिय वृत्तमा व्यापक चासो र सकारात्मक चर्चा पाएको बताउनुभयो।
उहाँका अनुसार प्रधानमन्त्रीको सम्बोधन यस वर्ष संयुक्त राष्ट्रसंघीय महासभाका सर्वाधिक हेरिएका र चासो लिइएका सम्बोधनमध्ये एक बनेको छ। राजनीतिक परिवर्तनपछि नयाँ परिस्थितिमा युवा प्रधानमन्त्रीले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व कसरी गर्नुहुन्छ भन्ने विषयमा नेपालसहित अन्तर्राष्ट्रिय समुदायको समेत चासो रहेकाले यसपटकको सहभागिता विशेष रहेको उहाँले बताउनुभयो।
मन्त्री खनालले महासभा नेपालको कूटनीतिक सक्रियता विस्तार गर्ने महत्वपूर्ण अवसर बनेको उल्लेख गर्दै प्रधानमन्त्रीको सम्बोधनमार्फत नेपालको राष्ट्रिय सरोकारका विषयलाई स्पष्ट र सशक्त रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न सफल भएको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूको सम्बोधनअघि नै नेपालले राजनीतिक परिवर्तनपछि विश्व मञ्चमा आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने विषयमा अन्तर्राष्ट्रियस्तरमा विशेष चासो थियो। प्रधानमन्त्रीज्यूको सम्बोधनपछि विश्वभरका सञ्चारमाध्यममा त्यसले उल्लेख्य स्थान पाएको र संयुक्त राष्ट्रसंघका यस वर्षका सर्वाधिक हेरिएका सम्बोधनमध्ये एक बनेको देखिन्छ।”
महासभाका क्रममा भएका विभिन्न भेटवार्तामा समेत अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले प्रधानमन्त्रीको सम्बोधनको प्रशंसा गर्दै उहाँले उठाउनुभएका विषयप्रति ऐक्यबद्धता जनाएको मन्त्री खनालले बताउनुभयो।
महासभाको साइडलाइनमा भएका छलफलमा नेपालले उठाउँदै आएको जलवायु वित्त र जलवायु न्यायको मुद्दाले विशेष महत्व पाएको उहाँको भनाइ थियो। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम तीव्र हुनुका साथै आकस्मिक विपद्का घटना बढ्दै गएको विषयलाई नेपालले राष्ट्रिय सुरक्षा र विकाससँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको मन्त्री खनालले बताउनुभयो।
उहाँले महासभामा नेपालको सहभागिताले क्षेत्रीय तथा विश्वव्यापी तहमा नेपालको कूटनीतिक सक्रियता थप प्रभावकारी बनाउन योगदान पुगेको उल्लेख गर्नुभयो।








