काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणको सुधार रणनीति अघि बढाएको छ ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संसदीय समितिको बैठकमा बजारका सहभागी तथा सरोकारवालाको सहभागितामा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
सुधार प्रक्रियालाई पारदर्शी बनाउन बोर्डले पहिलो चरणमा अवधारणापत्र तयार गर्ने, दोस्रो चरणमा सम्बन्धित समितिमार्फत छलफल गर्ने तथा सार्वजनिक परामर्शबाट सुझाव लिएर अन्तिम चरणमा नीति कार्यान्वयन गर्ने व्यवस्था अघि बढाएको छ ।

प्राथमिक र दोस्रो बजार सुधारका लागि बोर्डले छुट्टाछुट्टै समिति गठन गरेको छ । समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ, नेपाल उद्योग वाणिज्य महासंघ र मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि सहभागी छन् ।
प्राथमिक बजारतर्फ प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डलगायत विषयमा सुधारका नीति तयार भइसकेका छन् । बजारको तयारी र सहभागीहरूको क्षमतालाई ध्यानमा राख्दै ती नीति क्रमशः कार्यान्वयनमा लैजाने बोर्डको योजना छ ।
दोस्रो बजारतर्फ भने ब्रोकर व्यवसायको पुनर्संरचनालाई बोर्डले प्राथमिकतामा राखेको छ । ब्रोकर व्यवसायलाई पारिवारिक प्रकृतिको सीमित संरचनाबाट व्यवस्थित औद्योगिक मोडलमा विकास गर्ने नीति बोर्डले पारित गरिसकेको छ ।
बोर्डले ब्रोकर संस्थालाई कार्यक्षमता र सेवाका आधारमा चार श्रेणीमा विभाजन गरी स्टक डिलरसिपसहितको विस्तृत संरचनामा लैजाने तयारी गरेको छ ।
अध्यक्ष भट्टका अनुसार दोस्रो बजारको प्रमुख पूर्वाधारका रूपमा रहेको नेप्सेको सुधारलाई समेत उच्च प्राथमिकता दिइएको छ । नेप्सेको कारोबार प्रणाली, आदेश व्यवस्थापन, साइबर सुरक्षा र सूचना प्रविधि प्रणालीमा देखिएका कमजोरी सुधार गर्न नियामकीय व्यवस्था थप कडाइ गर्ने तयारी गरिएको छ ।
नेप्सेको सुधारका लागि करिब ३१ देखि ३२ वटा नयाँ नियामकीय व्यवस्था तयार पारिएको र ती क्रमशः कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको अध्यक्ष भट्टले बताउनुभयो । सरकारी स्वामित्वका संस्थाबीचको समन्वय अभाव र क्षेत्राधिकारसम्बन्धी समस्या समाधान गर्दै पुँजी बजारको पूर्वाधारलाई थप व्यवस्थित बनाउने बोर्डको लक्ष्य रहेको उहाँको भनाइ छ।







