काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नं. १०, प्रदेशसभा क्षेत्र नं. २ (ख) को सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी भएका छन्।
मंगलबार सम्पन्न अधिवेशनमा बानियाँले १०८ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी प्रचण्डमान गोपालीले ५४, बाबुशरण महर्जनले ३१ र सिद्धिलाल महर्जनले ४९ मत प्राप्त गरेका छन्।
निर्वाचित भएपछि बानियाँले आफूलाई अत्यधिक बहुमतका साथ विजयी गराउने एकाइ सभापति, क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसका साथीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनले निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै सबैलाई साथमा लिएर संगठनलाई एकताबद्ध र सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। उनले सबैको भावना र विचारलाई सम्मान गर्दै नेपाली कांग्रेसलाई थप मजबुत बनाउँदै अघि बढ्ने बताएका छन्।
बानियाँले आफ्नो विजयलाई व्यक्तिगत नभई सबैको विजयका रूपमा लिएको बताएका छन्।








